लता मंगेशकरको बायोपिक बनाउन निर्देशकहरूको होडाबाजी


नेपालभूमि, काठमाडौं ।

भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् ।

सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए । तर लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन ।

लताको बायोपिक बनाउन निर्देशक सञ्जय बढी उत्सुक छन् । यद्यपि गायिकाको परिवार एसियाकै सफल गायिका लताको जीवनमा बायोपिक बनाउन तत्कालका लागि अनुमति नदिने पक्षमा छन् । लताको परिवार नै उनको बारेमा बायोपिक बनाउन चासो दिइरहेका छन् ।

यसअघि महाराष्ट्र सरकारले ‘भारत रत्न’ प्राप्त गायिकाको सम्झनामा मुम्बईमा एक म्युजिक एकेडेमी बनाउने घोषणा गरिसकेको छ । उसले एकेडेमीको अलावा मुम्बई युनिभर्सिटीको कलिना क्याम्पसमा एक संग्रहालय पनि बनाउने तयारी गरेको छ ।