हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नु जरुरी : राष्ट्रपति


काठमाडौं, बैशाख ४ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबारदेखि सुरु १४औं केन्द्रीयस्तरी राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक स्थानीय तहबाट काम गर्नुपर्ने धारणा राखेका हुन् । साथै राष्ट्रपति पौडेलले हरेक स्थानीय क्षेत्रमा खेलकुदको संरचना निर्माणका लागि सरकारको अग्रसरता हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले खेलकुदमै लागेर भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्न पनि सरकारले काम गर्नुपर्ने धारणा राख्दै राष्ट्रपति रनिङ शिल्डजस्ता खेलकुद प्रतियोगितालाई प्रवर्धन गर्न सके नेपाली खेलकुदले अझ फड्को मार्ने बताए ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीले नै एकदिन देशको झन्डा बोक्ने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय टिम निर्माणको जगसमेत रहेको उल्लेख गर्दै सात सय ३५ मध्ये ६३५ स्थानीय तहबाट छनोट भएको जानकारी दिए ।


उद्घाटन कार्यक्रमको सुरुआतमा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्च पास्ट भएको थियो । विभिन्न खेलका ओलम्पियन दशरथ रंगशालामा ओलम्पिक टर्च ¥यालीका साथै तेक्वान्दोकी पारा ओलम्पियन पलेशाले ओलम्पिक टर्च प्रज्ज्वलन गरेकी थिइन् । उद्घाटन सत्रमा खेलाडीको तर्पmबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकको तर्पmबाट करातेका प्रकाश मोहन धौबडेलले शपथ लिएका थिए । साथै उक्त समारोहमा विभिन्न सांस्कृति नृत्य र तेक्वान्दो, डान्स स्पोर्ट्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो । तृष्णा गुरुङ एन्ड दि कोल्याब समूहले प्रस्तुती दिएको थियो ।
तीन दिने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदै  छ । पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।
एथलेटिक्स ः गणेशको राष्ट्रिय कीर्तिमान
गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे । बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोश्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेश्रो भए ।
छात्र १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोश्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन् । निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाइन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोश्रो तथा बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेश्रो बने ।्
छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेन्डमा दूरी तय   गरे । बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोश्रो तथा कोशी प्रदेशका राकेश सार्की तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सकेन्ड समय   खर्चिन् । लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोश्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेश्रो भए ।
छात्रको १ सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा  (११.५२ सेकेन्ड) तेश्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन् । गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोश्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।