अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारणलाइनको शिलान्यास


२१ माघ, पाँचथर ।
काबेली कोरिडोर तथा निर्माणाधिन कोशी कोरिडोर प्रशारणलाइन आयोजनाहरुलाई एक आपसमा आबद्ध गर्ने उदेश्यले अमरपुर ढुङ्गेसाँघु १३२ केभी प्रशारणलाइन आयोजनाको काम अघि बढेको छ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका– २ मा आयोजित एक कार्यक्रमकोबीच प्रशारणलाइनको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रमसँगै आयोजना अन्तर्गत ६७ वटा टावरहरु निर्माणको कार्य सुरु भएको छ ।

आयोजनाका आयोजना प्रमुख अनुप गौतमले हिलिहाङ गाउँपालिका वडा नम्बर १ स्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेसनदेखि मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सवस्टेसनसम्म १३२ केभी प्रशारणलाइन विस्तार हुने बताए । उनका अनुसार अमरपुर तथा ढुङ्गेसाँघु सवस्टेसन प्रत्येकमा दुई वटा लाईन वे तथा ढुंगेसाँघु सवस्टेसनमा विद्युत वितरणका लागि ११ केभी  संरचना निर्माण हुने योजना रहेको छ । ११ केभी संरचना निर्माणको लागि भने आयोजनाले ठेक्का आह्वानको गृहकार्य अघि बढाएको छ ।


करिब ४० करोड लगानीमा प्रशारणलाइन निर्माणको जिम्मेवारी कोस्मिक इलेक्ट्रिकल लिमिटेडले पाएको छ । आयोजनाको कामहरु २०८२ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको सर्वेक्षण, अध्ययन एवं वातावरणीय अध्ययन कार्य ०७९ मा सम्पन्न भएर ठेक्का लागेकोमा डिजाइन तथा इन्जिनियरिङ कार्य सम्पन्न भएर यस आर्थिक बर्षबाट निर्माणको कार्य अघि बढेको गौतमले बताए । आयोजनाले विद्युत विकास विभागबाट सर्वोक्षण अनुमतिपत्र एवं विद्युत प्रशारण अनुमतिपत्र प्राप्त गरिसकेको छ । आयोजना प्रमुख गौतमले पूर्वी नेपालको राष्ट्रिय प्रशारण ग्रिडसँगै स्थानीय विद्युत आपूर्ति पनि सुदृढ हुने बताए । उनले निर्धारित समयसीमाभित्र नै काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकार, वडा नम्बर २ का वडाअध्यक्ष भीम प्रसाद हेम्व्या र स्थानीयको सहभागीता रहेको थियो ।