सुन तस्करी सम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पूर्व आइजिपी खनालको आग्रह


काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रुपमा नाम जोडेर समाचार लेखेको भन्दै मानहानीको मुद्दा हाल्ने बताएका छन् । उनले आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गरे ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खनालले न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै दुःखेसो पोखे । उनले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गरे ।
उनले आफूसँग नाम जोडिएका व्यक्ति जीवन चलाउनेलाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘न मैले चलाउने भन्नेलाई चिनेछु, म सक्याउनेलाई नै चिनेछु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देशप्रति र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ ?’
उनले आफूले कान्तिपुर दैनिकलाई माओवादी द्धन्द्धको बेलामा पनि प्रोटेक्ट गरेको विगत स्मरण गराए । उनले भने,‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडें । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि। मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरें । म आईजी हुँदापनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधिर शर्मालाई भनेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डनको लागि भन्नुभएको थियो । तर, मैले खण्डनभन्दापनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस भनेको थिएँ ।’
उनले आफूलाई सांसद अपहरण गर्यो भनेर प िनबद्नाम गरिएकोमा आपत्ति जनाए । उनले भने,‘बर्दिवासबाट सांसद अपहरण भयो भनेर कुरा आयो । अपहरित हुने मान्छे यहाँ मन्त्री बन्छ र ? खुशीको साथ आएको थियो । ममाथि प्रहार भयो । त्यतिवेला झुठा उजुरी भनेर दर्ता पनि भएन । बाबुराम भट्टराईहरु निवेदन लिएर ठाउँ ठाउँमा चाहार्नुभयो । अपहरणमा संलग्न भएको भनेर फोटोसहित राखे । सिसिटिभी फुटेज सबै छ । होईन भनेर मैले सार्वजनिक रुपमा राखेको छु । सरकारी वकिलको कार्यालयले पनि अपहरण भनेन । मैले यो कुरा पनि बुझेको छैन् ।’
उनले आज कान्तिपुर दैनिकमा आफ्नो नाम र फोटो जोडेर सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरामा ल्याईन भनेर लेखिएको समाचारमा आपत्ति जनाए । उनले भने,‘एमालेले माग गरेको कारण न्यायिक आयोग गठन भयो । आयोगमा स्वतन्त्र रुपमा सबैतर्फका विज्ञ बसेर काम भयो । अनुसन्धान पनि दुई पटक म्याद थप भएर सम्पन्न भएको हो । अब केही देखिएन । मैले के गर्ने ? म अपराधी बनेर बस्दिनुपर्ने कान्तिपरलाई राम्रो बन्न ? उहाँहरुलाई चिक्तबुझ्नको लागि ।’
उनले आफू छोरीहरुको अध्ययनको लागि अमेरिका पुग्दापनि भाग्यो भनेर समाचार आएकोमा आपत्ति जनाए । उनले भने,‘म अमेरिका गएँ, छोरीहरु एउटा डाक्टर, अर्को लयर पढाउनको लागि गएको थिएँ । टिकट अलिक महँगो भएर बसाई लम्बिएको बेला सर्वेन्द्र त भाग्यो अरे भनेर समाचार आयो, यहीँ डाका, तस्कार, फटाहा, चोर अपराधीलाई ठाउँको ठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ? मैले त्यतिवेला टिकट प्रि–पोण्ड गरेर काठमाडौं आएँ ।’
उनले आफू आईजिपी हुँदा तस्करी नियन्त्रण गरेको भनेर पुरस्कृत भएको पनि स्मरण गराए । उनले भने,‘तस्करी नियन्त्रण गरेको भनेर म पुरस्कृति भएको छु । कोही कसैसँग चिया खाएको छैन् । केही लिएको छैन् । अनि मलाई तस्करसँग जोडाउन किन लालायित हुन्छ ?’
आफूले एमालेका नेताहरु कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । यदि आफूले कसैलाई भनेको भए प्रमाणित गर्न पनि उनले चूनौति दिए । उनले कान्तिपुरको समाचारविरुद्ध आफूले प्रेस काउन्सिलमा उजुरी पनि दिएको सुनाए । उनले भने,‘सम्बन्धित ठाउँमा मानहानीको मुद्दा दर्ता पनि गर्नेछु । यो देश सिमित मान्छेहरुको हातमा छ । जसले केही गर्न खोज्यो, त्यसलाई प्रहार गरिन खोजियो । बालुवाटार जग्गा घोटालाा काण्ठमा पूर्व प्रधानमन्त्रीहरुको पनि नाम किटान गरेर सिआईबीमार्फत गृहसचिवलाई प्रतिवेदन बुझाएको व्यक्ति हुँ ।’
आफूले यो प्रकरणमा सिआईबीदेखि कसैसँग पनि केही नभनेको खनालको जिकिर छ । उनले अहिले सुन तस्करी प्रकणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे । उनले भने,‘तिनीहरुलाई कारबाही नगरिए बाटोमा लतारिएर कारबाही गर्नुपर्छ । दिस ईज टु मच ।’ उनले अब आयोगको प्रतिवेदन आईसकेपछि दोषीहरुलाई कारबाही गर्न गृहमन्त्रीलाई अब के सोधिरहनुपर्छ र ? भन्दै फटाफट काम गर्न सुझाव द्यिए । उनले भने,‘ममाथि गम्भीर लाञ्छना लाग्यो । यो तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरु बुनेर कान्तिपुर दैनिकले समाचार सम्प्रेषण गरेको छ । यसको मैले घोर भत्र्सना गरेको छु ।’