पशुपति आर्यघाटमा सीता दाहालको अन्त्येष्टि


प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए । सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेसाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत लगायत सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए । उपप्रधानमन्त्री खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झन्ड ओडाएका थिए । आर्यघाटमा साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।