रवि लक्षित भिम रावलको टिप्पणी- मुद्दा झेलिरहेको व्यक्ति गृहमन्त्री बन्नु नैतिकता विपरीत


नेपालभूमि, काठमाडौं ।

पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् रावलले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताएका छन् ।

उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यंग्य रहेको समेत उल्लेख गरे ।

उनले लेखेका छन्,  ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यंग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ।’

गृहमन्त्री लामिछानेविरुद्धको मुददमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्काल अन्तरिम आदेश दिनुपर्ने कुनै कारण नरहेको भन्दै सांसद तथा मन्त्री पदसमेत यथावत् रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।