नागढुङ्गा सुरूङमार्गको ‘ब्रेक–थ्रु’
![](https://nepalbhumi.com/wp-content/uploads/2024/04/feb6094e-e8a7-4292-bdad-273ef3d1b905-768x481.jpg)
काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताउनुभएको छ ।
नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।” उहाँले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गर्नुभयो ।
![](https://www.ramechhapnews.com/wp-content/uploads/2024/04/feb6094e-e8a7-4292-bdad-273ef3d1b905-768x481.jpg)
“निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।”
नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।
“काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरूयोजना निर्माणलाई प्राथमिकता दिनैपर्छ ।” उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताउनुभयो ।
विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उहाँले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने बताउनुभयो ।
प्रचण्डले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताउनुभयो ।
“आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।”
प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निरासाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गर्नुभयो ।
यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गर्नुभयो ।