बन्चरेडाँडा ल्याण्डफिल साइटलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने उच्चस्तरीय समितिको निर्णय


१४ चैत्र, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्रको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनामा अवस्थित रुपमा हुँदै आएको फोहोर विर्सजनलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाको कारण प्रभावित स्थानीयले अव्यवस्थित रुपमा फोहोर विर्सजन हुँदा दुर्गन्धन फैलिएको र लिचड खोलामा बग्ने समस्या सृजना भएको गुनासो गरेपछि शहरी विकास मन्त्रालयले ल्याण्डफिल साइटमा देखिएको समस्या समाधान गर्न अग्रसरता देखाएको हो ।
बुधवार शहरी विकास मन्त्री धनबहादुर बुढाको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईट संचालनमा देखिएका समस्या समाधान गर्ने निर्णय भएको छ । बन्चरेडाँडामा फोहोर विर्सजन गर्नको लागि बारम्बार समस्या सृजना भएपछि २०७८ फागनु २६ को मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियषे ।
बैठकमा शहरी विकास मन्त्री बुढाले बन्चरेडाँडामा भइरहेको फोहोर विर्सजन र समस्या समाधानको बारेमा चासो राख्नुभएको थियो । उहाँले फोहोरको वैज्ञानिक व्यवस्थापनसँगै स्थानीय जनताको स्वास्थ्य र जायज मागको सम्बोधन गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । लामो समयदेखि काठमाण्डौ उपत्यकाको फोहोर व्वस्थापमा आएको समस्याको दीर्घकालीन समाधान गरेर अघि बढनु पर्नेमा मन्त्री बुढाले जोड दिनुभयो ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर विर्सजन गर्नको लागि बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरिएको बताउनुभयो । उहाँले बारम्बार समस्या सृजना हुनु राम्रो पक्ष नभएको बताउदै दिगो समाधान गरेर अघि बढनुको अर्को विकल्प नरहेकोमा जोड दिनुभयो ।
बैठकमा ललितपुर महानगरपालिका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह ,शहरी विकास मन्त्रालयका सहसचिव पद्म कुमार मैनाली, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक कुमार प्रसाद घिमिर, विभागका उपमहानिर्देशक एवं बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख नारायण प्रसाद भण्डारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार लगायतको उपस्थिती रहेको थियो । बैठकले फोहोर उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन सहित दुई वटा कार्ययोजना तयार गरेर जाने निर्णय गरेको छ ।
अल्पकालीन कार्ययोजना
१.बञ्चरेडाडाँमा फोहोर विसर्जन गरि रहेका सबै स्थानिय तहहरुलाई यथासिघ्र फोहोरमैलालाई वर्गीकरण गरी बञ्चरेडाँडा ल्याण्डफिल साईटमा जाने फोहोरको परिमाण कम गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत परिपत्र गर्ने ।
२. शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, काठमाडौँ महानगर पालिका र ललितपुर महानगरपालिका विच समन्वय गरि बैज्ञानिक तवरले लिचेट व्यवस्थापन गर्ने प्रविधिको अध्ययन गरी काठमाडौँ महानगरपालिकाले शहरी विकास मन्त्रालयको समन्वयमा कार्यान्वयन गर्ने ।
३. ल्याण्डफिल साईटमा फोहोरमैलाको बैज्ञानिक व्यवस्थापनका लागि तोकेको मापदण्ड बमोजिम प्रविधि यकिन गरी स्थानीय तह मार्फत खरिद प्रकृया अगाडी बढाउन शहरी विकास मन्त्रालयले आवश्यक सहजिकरण गर्ने ।
दीर्घकालीन कार्ययोजना
१. शहरी विकास मन्त्रालयले पूरक इआइए प्रतिवेदन तयार गर्ने ।
२. मध्यवर्ति क्षेत्रको विकास तथा प्रभावित क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गर्ने सन्दर्भमा पूरक इआइए प्रतिवेदन स्वीकृत भएपश्चात थप प्रक्रिया अगाडी बढाउने ।
३. ल्याण्डफिल साईट प्रभावित क्षेत्रको भौतिक विकासका लागि आगामि आर्थिक बर्षको लागि बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता प्रदान गर्न शहरी विकास मन्त्रालय मार्फत अन्य संघिय मन्त्रालयलाई अनुरोध गर्ने ।
४. फोहोर मैला व्यवस्थापनका सन्दर्भमा नेपवइस्टको प्रस्ताव उपर कानून बमोजिम शिघ्र निर्णय गरी टुङ्गयाउन लगानी बोर्डको कार्यालयलाई अनुरोध गरी पठाउने ।
५. बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले प्रस्ताव गरेको सबै किसिमका संघर्षका कार्यक्रमहरु तत्काल फिर्ता लिन सरोकार समितिलाई अनुरोध गर्ने ।