गल्याङमा ३०० जना क्षमताको सिटी हल निर्माण


वालिङ, २५ कात्तिक ।

स्याङ्जाको गल्याङ नगरपालिकामा ३०० जना क्षमताको सिटी हल निर्माण गरिएको छ । गल्याङ नगरपालिका–३ को गल्याङ बजार नजिकै कूल रु तीन करोड ६६ लाख ३५ हजार ३४३ को लागतमा सिटी हल निर्माण सम्पन्न भएको हो ।

गल्याङ विसं २०७३ मा मात्रै घोषित भएको नगरपालिका भएकाले आवश्यक भौतिक पूर्वाधार निर्माणको चरणमा छ । शहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जिनीयर झपटबहादुर थापाले आज गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गर्नुभएको हो ।

“गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारीले भन्नुभयो, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।”

गल्याङ आसपासमा धेरै जना अट्ने खालको भवन नभएकाले कार्यक्रम, सभासमारोह, तालीम, गोष्ठीलगायत अन्य कार्य ठूलो सङ्ख्यामा गर्नका लागि भवनको अभाव भ एकाले नगरपालिकाको पहलमा निर्माण सम्पन्न गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

विभिन्न समुदायका समाज घर भए पनि त्यहाँ यतिको ठूलो क्षमताका नभएकाले बाहिरी खुल्ला ठाउँमा कार्यक्रम गर्नुपर्ने समस्याको अन्त्य भएको छ । चर्को घामपानीका कारण कार्यक्रम गर्दा गर्दै स्थगित गर्नुपर्ने अवस्था अब रहने छैन । निर्माण व्यवसायी एवं रवीना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।