एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने


काठमाडौं, ११ कात्तिक ।

गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको संघले जनाएको छ ।

फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरिएको छ ।

फाउण्डेशनका संस्थापक सदस्यमा गैरआवासीय नेपाली संघतर्फबाट अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्वमुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहनुभएको छ ।