निर्वाचन आयोगद्वारा निर्वाचन परिणामबारे उपराष्ट्रपति पुनलाई जानकारी


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूलाई जानकारी गराएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदन उपराष्ट्रपति ई बुझाउँदै आयोगले मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामबारे जानकारी गराएको हो ।
निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलियतासहित आयोगका पदाधिकारीहरु आज (बिहीबार)  उपराष्ट्रपति भवन, हतिरगृह पुग्नुभएको थियो ।
आयोगका पदाधिकारीसँग भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिकतम निष्पक्ष, भयरहित, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा धन्यवाद र बधाई दिनुभयो ।
‘एउटा महान् उत्सवको रुपमा आएको निर्वाचन बढी भन्दा बढी निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न भयो । यो निर्वाचन व्यवस्थित र भव्यरुपमा सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘अर्कोकुरा यो निर्वाचन एकैपटक सम्पन्न हुनुले हाम्रो निर्वाचन गर्ने क्षमतामा वृद्धि भएको, आयोग पूर्ण सक्षम भएको र एकसाथ निर्वाचनका लागि हामीसँग साधनस्रोत रहेको सन्देश गएको छ ।’
उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले एकाध घटनाबाहेक निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको बताउनुभयो । समानुपातिक सहितको अन्तिम परिणाम बुधबार घोषणा गरिएको र संविधान बमोजिम प्रदेशका निर्वाचन परिणाम पुस २ गते प्रदेश प्रमुखहरुलाई बुझाइने बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले प्रत्यक्षबाट निर्वाचितहरुले प्रमाणपत्र पाइसकेका र समानुपातिकबाट निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिइने जानकारी गराउनुभयो । उहाँले निर्वाचन सम्पन्न भएको अवसरमा आयोगले पुस ४ गते जलपान समारोह आयोजना गरेको जानकारी गराउनुहुँदै  उपराष्ट्रपतिलाई विशिष्ट अतिथिको रुपमा उस्थित भइदिन आमन्त्रणसमेत गर्नुभयो ।
सो अवसरमा निर्वाचन आयुक्तहरु माननीय ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे लगायत उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।