नरैनापुरको बाढी प्रभावित क्षेत्रको प्रजिअ खत्रीद्धारा अनुगमन (फोटोफिचर)


बाँके, २५ असोज । अविरल वर्षाको कारण बाँकेको राप्ती सोनारी गाँउपालिका–७ र नरैनापुर गाँउपालिका– ६ मा सिक्टाँले बनाएको बाँध भत्किन थालेपछि स्थानीयहरु त्रासित बनेका छन् ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरीक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल सहितको टोली भत्किन थालेको बाँधको स्थलगत अनुगमन गरी तत्काल बाँधको तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीयको समस्या सुनेपछि प्रजिअ खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल प्रतिबद्धता जनाए । नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई आग्रह गरे । उनले सिक्टाले बनाएको बाँध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवी क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन समेत माग गरे ।

स्थलगत अनुगमनमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी खत्रीलाई राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले बाध भत्किए हजारौ मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गरे । निनरन्तर रुपमा परी राखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए । उनका अनुसार बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति हुन छ ।
पानी नपरे पछि गत साउनमा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि सरकारले कुनै प्रकारको राहात दिन नसकि रहेको अवस्थामा फेरी बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पिडा दिएको बताउदै गाँउपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । प्रजिअ खत्रीको निर्देशनमा बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माणको निर्माण सुरु हुने बताए ।