वैवाहिक अंगीकृत नागरिकता प्रावधान पितृसत्ता ग्रस्त : पूर्वमन्त्री झाँक्री


नेपालभूमि, काठमाडौं । 

नेकपा एकीकृत समाजवादीकी सचिव एवं निर्वतमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान पितृ सत्ताले ग्रस्त रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक’माथि छलफलका क्रममा बोल्दै पूर्वमन्त्री झाँक्रीले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान विभेदपूर्ण रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘वैवाहिक अंगीकृतलाई छोराले बिहे गरेर ल्याउने नागरिकको हकमा के गर्ने ? मामला यति मात्र होइन, छोरीले गर्ने हकमा के गर्ने भन्ने पनि हो । त्यसो गर्दा छोरीले बिहे गरेको गैरनेपाली नागरिकका लागि कहिल्यै पनि प्राप्त नगर्ने तर छोराले बिहे गरेर ल्याएको गैर नेपाली नागरिकलाई आजका आजै नागरिकता दिने कुरा विभेदपूर्ण मात्र होइन, यो पितृसत्ताले ग्रस्त छ । यसका विरुद्ध हामीले विरोध र असहमति राखेका हौ‌ । तर आज यो सम्बोधन भएन । ‘

उहाँले नागरिकता दिने कुरा राज्यले निर्धारण गर्ने तर समानता कायम गर्ने कुरा प्राकृतिक अधिकार भएको बताउँदै नागरिकता कानूनले छोरीमाथि असमान व्यवहार कायमै राखेको उल्लेख गर्नुभयो ।

यस्तै प्रतिनिधिसभामा निरन्तर ७ घण्टा छलफलपछि नागरिकता विधेयक पारित भएको छ। छलफलमाथि उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएकाे थियाे ।

विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।