जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद थपिएला ?


काठमाडौं, ४ साउन ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ ।

१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो । त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । समितिले बिहीबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।