चार महिनापछि कोरोनाबाट एक महिलाको मृत्यु


सुनसरी, २ साउन ।

गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ । कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ । ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।