धोवीखोला कोरिडोरका अवैध संरचना हटाउँदै मन्त्री झाँक्री (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

धोविखोला कोरिडोर सडकमा अनाधिकृत रूपमा राखिएको निर्माण सामाग्री र अतिक्रमित संरचना हटाउने काम सुरु गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा अवैध रूपमा राखिएका निर्माण सामाग्री र संरचना हटाउने काम अगाडि बढाउनुभएको हो ।

सडक आसपासको क्षेत्रमा राखिएको निर्माण सामाग्री हटाउन हटाउन दिएको निर्देशन स्थानीयले अटेर गरेपछि मन्त्री झाँक्री नै स्थलगत रूपमा खटिएर सडकमा राखिएको निर्माण सामाग्री हटाइएको छ । काठमाडौं महानगरका प्रतिनिधि, ट्राफिक प्रहरी र काठमाडौं उपत्यका प्राधिकरणका कर्मचारीसहितको टोली लिएर मन्त्री झाँक्रीले अनामनगरको भाटभेटीदेखि मैतीदेवीको क्षेत्रमा राखिएको अवैध निर्माण सामाग्री र अवैध संरचना हटाउनुभएको छ ।

धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभाबी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेपछि मन्त्री झाँक्रीको नेतृत्वमा डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको छ ।

धोबीखोला कोरिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामाग्री राख्दा पैदल यात्रुहरूको लागि हिँडडुल गर्न नै सास्ती हुँदै आएको छ । सडकका फुटपाथ ओगटेर राखिएका पसल, ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको छ ।

सडक किनारामा राखिएको अवैध निर्माण सामाग्री हटाएपछि प्रतिक्रिया दिँदै मन्त्री झाँक्रीले अवैध निर्माण सामाग्री राख्दा अस्तव्यस्त बनेको कोरिडोरलाई व्यवस्थित बनाउने अभियान सुरु गरिएको बताउनुभयो । ‘फुटपाथमा पसलमा राख्ने, जथाभाबी रूपमा निर्माण सामाग्री राख्दा पैदल यात्रुलाई हिडने ठाउँ नै भएन’, उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यका विकास प्राधिकरणले अनाधिकृत रूपमा राखिएका निर्माण सामाग्री हटाउन सूचना जारी गर्दा पनि अटेर गरे पनि सार्वजनिक स्थानमा राखिएका निर्माण सामाग्री डोजर लगाएर हटाएका छौं ।’

उहाँले फुटपाथमा निर्माण सामाग्री राख्न काय गलत भएको बताउँदै सडकलाई राम्रो र व्यवस्थित बनाउन सार्वजनिक सरोकारको विषय बन्नु पर्ने बताउनुभयो । सडक पेटीमा छाप्रो हाल्ने कार्य तत्काल रोक्न आग्रह गर्दै झाँक्रीले भन्नुभयो,‘सरकारले गलत काम गर्नेलाई कारबाही पनि गर्ने व्यवस्था गरेको छ, तर कारबाही उपचार होइन भनेर हामीले सांकेतिक रूपमा पहिलो चरणमा सचेतना जगाउन डोजर लगाएर सडकमा राखिएको निर्माण सामाग्री हटाएको हो ।’

कोरिडोरलाई व्यवस्थित बनाउन सौन्दर्यीकरण काम अगाडि बढाइएको बताउँदै सडक क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने, अन्डर पासलाई व्यवस्थित गर्ने काम पनि एक साथ अगाडि बढाइएको बताउनुभयो । उपत्यका विकास प्राधिकरण, विद्युत् प्राधिकरण, केयुकेएल र महानगरपालिकासँग समन्वय गरेर फुटपाथलाई व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै मन्त्री झाँक्रीले ट्राफिक व्यवस्थापनलाई सहज बनाउने बताउनुभयो ।

काठमार्डौ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोविखोला कोरिडोरलाई सुधार गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । सडक दायाँबाया रहेको फुटपाथलाई हटाउन मन्त्री स्वयंम नै सहभागी हुँदा थप प्रभावकारी बनेको बताउँदै कोरिडोरलाई व्यवस्थित बनाउन समन्वयको अभावमा रहेको अभाव हटाउने कार्यमा लागेको बताउनुभयो ।

‘धोविखोलालाई सफा र स्वच्छ राख्नको लागि जनप्रतिनिधिहरुसँग छलफल गरिरहेका छौ’, ढकालले भन्नुभयो । काठमाडौं उपत्यका प्राधिकरणका नायव विकास आयुक्त नारायण भण्डारीले कोरिडोरलाई सौन्दर्यीकरण गर्ने कार्यक्रम सञ्चलन गरिएको बताउँदै फुटपाथलाई अतिक्रमण हुन नदिन अवैध रूपमा राखिएको निर्माण सामाग्री हटाउने काम अगाडि बढाएको बताउनुभयो ।

‘हामी नियमित रूपमा अनुगमन गछौं, सरोकारवाला निकायसँग समन्वय गरेर काम गछौं’, उहाँले भन्नुभयो । फोहोर फ्याँक्ने कामलाई रोक्न ठाउँ ठाउँमा सिसी क्यामेरा राखेर अनुगमन गरिने बताउँदै भण्डारीले कोरिडारलाई सुस्त दुरुस्त राख्ने काममा लाग्ने बताउनुभयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त एवं धोविखोला कोरिडोरका आयोजना प्रमुख दिनेश कृष्ण पोतेले कोरिडोर निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार अब पाँच सय मिटर सडक मात्र निर्माण गर्न बाँकी रहेको छ । निलो पुलमा तीन वटाको मुआब्जा दिने प्रक्रिया अगाडि बढाइएको बताउँदै हालसम्म ३ अर्ब तीस करोड रुपैयाँ खर्च भएको बताउनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीले धोविखोला कोरिडोर क्षेत्रमा देखिएको समस्या हटाउन ट्राफिक प्रहरीले भूमिका निर्वाह खेल्ने बताउनुभयो । उहाँले नियमित रूपमा अनुगमन जारी राखिने बताउँदै सडक आसपासको क्षेत्रमा सवारी साधन पार्किङ नगर्न पनि आग्रह गर्नुभयो ।

काठमाडौंको ट्राफिक व्यवस्थापनको वैकल्पिक मार्गको रूपमा निर्माण गरिएको धोविखोला कोरिडोर सुधारको काम अगाडि बढेको छ । कोरिडार आसपासको क्षेत्रमा प्रदुषण हुने क्रम बढेपछि खोलालाई सफा बनाउने र कोरिडोरमा रंगरोगन गर्ने काम अगाडि बढेको हो । खोलाको संरक्षण र विकासको मन्त्रालयले अगाडि सारेको धोविखोला कोरिडोरले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनुको साथै खोलाको संरक्षणमा समेत योगदान गरेको छ ।

ट्राफिक प्रहरी जोशीका अनुसार काठमाडौं उपत्यकामा मात्र हाल दैनिक १० देखि १२ लाख भन्दा बढी सवारी साधन गुडने गरेका छन् । बागमती दोभानदेखि बुढानिलकण्ठसम्म दायाँबायाँ १२र१२ किलोमिटर गरेर २४ किलोमिटर कोरिडोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

धोविखोला कोरिडोरको क्षेत्रमा फोहोर फ्याँक्ने र मापदण्ड विपरीत ढल मिसाउने क्रम बढेसँगै शहरी विकास मन्त्री झाँक्री, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले गत पुस २८ गते स्थलगत निरीक्षण गरेर देखा परेका समस्या तत्काल समाधान गर्न काठमार्डौ उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

सोही निर्देशन बमोजिम अहिले प्राधिकरणले खोलामा रहेको फोहोरको व्यवस्थापन गर्ने, सडकमा जेब्रा क्रसिङ राख्ने, लेन मार्किङ, लाइट रिफेक्लेटर, फुटपाथमा रंगरोगन गर्ने, अण्डरपास निर्माण गर्नुको साथै खाली रहेका क्षेत्रमा पार्क निर्माणको काम सुरु गरेको छ ।

जसको कारण कोरिडोरका स्वरूपमै परिवर्तन आउने क्रम सुरु भएको छ । कोरिडोर क्षेत्रमा रहेको खाली स्थानमा दुवो रोप्ने, फुल र बिरुवा लगाएर हरियाली प्रवर्द्धन गर्ने काम पनि सुरु भएको छ । धोविखोला कोरिडोरसँगै जोडिएका काठमार्डौ महानगरपालिकाका ८ र बुढानीलकण्ठ नगरपालिकाको ४ गरी १२ वटा वडाहरू जोडिएका छन् ।