आर्थिक अनियमितता म सहन्नः मन्त्री बुढा


काठमाडाै‌ ।

शहरी विकास मन्त्री धन बहादुर बुढाले आर्थिक अनियमितताको कुरा आफ्नो लागि सह्य नहुने बताउनुभएको छ । उहाँले पारदर्शी ढंगले काम अघि बढाउने पक्षमा आफू  रहेकाे  बताउदै आर्थिक अनियमितताको विषय आफ्नो लागि सह्य हहुन नसक्ने बताउनुभएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागको निरीक्षण एवं विभागबाट भए गरेका कामको बिफ्रिङ लिने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले भन्नुभयो,‘मन्त्रालयको प्रगति कमजोर अवस्थामा छ, समय निकै थोरै छ, हामीले प्रगति हासिल गर्नु पर्छ, परिणाम देखाउने गरी काम गर्नुहोस, म पूर्ण रुपमा साथ र सहयोग गर्न प्रतिबद्ध छु ।’

सरुवा गर्ने क्रममा आर्थिक चलखेल हुने गरेको आफूले सुनेको बताउदै यस्ता कार्य पूर्ण रुपमा बन्द गरेर पारदर्शी ढंगले मन्त्रालयलाई अघि बढाउने योजनाको साथ आफू अघि बढने उहाँले बताउनुभयो । काम गर्ने क्रममा आइपर्ने नीतिगत समस्या समाधान गर्न आफू तयार रहेको बताउदै उहाँले  वित्तिय खर्च बढाउने कार्यमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले यस चालु आर्थिक बर्षमा मन्त्रालयले धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउदै छोटो समयमा परिणाममुखी काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।

नवनियुक्त महानिर्देशक कुमार प्रसाद घिमिरेले विभागले गरिहेको काम, विभागले झेल्दै आएको समस्या र समाधानको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा विभागका उप–महानिर्देशक नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।