शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकमा घिमिरे नियुक्त


काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमार प्रसाद घिमिरे नियुक्त हुनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट घिमिरे महानिर्देशकमा नियुक्त हुनुभएको हो ।शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका घिमिरेले विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

वि.सं. २०५३ मंसिर ८ मा इन्जिनियरिङ सेवा समुहबाट इन्जिनियर पदमा नियुक्त हुनुभएको थियो । यसअघि विभागको उप–महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएका घिमिर शहरी क्षेत्रको जानकारको रुपमा परिचित हुनुहुन्छ । उहाँले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको प्रमुख रहदा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाइ  व्यवस्थित बनाउने ‘सिंहदरबार गुरु योजना’ स्वीकृत गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैगरी गत आर्थिक बर्षमा शहरी विकास मन्त्रालयको ५८ प्रतिशत पुँजीगत खर्च हुँदा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा प्रमुख रहेर घिमिरेले ९८ प्रतिशत प्रगति हासिल गर्न सफल हुनुभएको थियो ।

निजामती सेवा दिवस २०८० को अवसरमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सह–सचिव घिमिरे उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत समेत हुनुभएको थियो । त्यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना चितवनमा दुई पटक, इलाम, बागलुङ ओखलढुंगाको प्रमुख हुँदा गरी पाँच पटक उत्कुष्ट कार्य सम्पादन बापत विभागबाट पुरस्कृत हुनुभएको थियो ।

घिमिरले विभागको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । नेपाल भूमिसँग कुराकानी गर्दै नवनियुक्त महानिर्देशक घिमिरेले भन्नुभयो,‘विभागको शीर उच्च बनाउने गरी सबैको साथ र सुझाव लिएर काम गर्छु ।’