मेलम्चीबाट काठमाडौं आइपुग्यो पानीः माघ १ गतेबाट वितरण हुने


२९ पुस,काठमाडौँ । बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानीको मुहानस्थलको संरचनाको मर्मत सम्भार गरेर पानी पथान्तरण भएसँगै माघ १ गतेबाट मेलम्चीको पानी काठमाडौंमा वितरण हुने भएको छ । मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आएसँगै माघ १ गतेबाट वितरण गरिने भएको हो । शनिवार सुन्दरीजलस्थित प्रशोधन केन्द्रको निरीक्षण गर्दै खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाँमा मेलम्चीको पानी वितरण गरिने बताए । लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने गरी योजना बनाइएको बताए ।

मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ, उनले भने । सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताए ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताए ।२८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ ।