विद्यालय खेलकुद शिक्षक तालिम सुरु


काठमाडौं, पुस २५  ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तालिमको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने हो भने विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए । सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिनाले सानको उद्देश्य बारे प्रकाश पारेका थिए ।
तालिममा काठमाडौंका २०, भक्तपुरका १० र ललितपुरका ५ गरी ३५ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन् । सहभागीलाई स्पोर्ट्स साइकोलोजी, स्पोर्ट्स मेडिसिन, जीटीएमटी, बायो मेकानिक्स, एकसरसाइज फिजियोलोजी, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, बास्केटबल र कबड्डीका विषयमा ज्ञान दिइने छ । तालिम माघ १० गतेसम्म सञ्चालन हुने आयोजकका उपाध्यक्ष प्रेमकुमार भुजेलले जनाएका छन् ।