मेलम्चीको पानी पुनः आजबाट काठमाडौं पठाइयो, पाँच दिनमा काठमाडौं आइपुग्ने


२५ पुस, काठमाडौं ।
बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको मेलम्चीको पानी आज साँझबाट पुनः काठमाडौंमा पथान्तरण भएको छ । पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । खानेपानी महिन्द्र राय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेका थिए । मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन तीन पटक मन्त्री यादवले स्थलगत रुपमा अनुगमन गरेका थिए । बाढीको कारण रोकिएको पानी ल्याउन खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारी सक्रिय रुपमा लागेका थिए ।

निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ । आज साँझबाट मेलम्चीको मुहानबाट पानी पथान्तरणको काम गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम बहादुर कुँबरले नेपाल भूमि डटकमलाई बताए । उनका अनुसार २७ किलोमिटर लामो सुरुमा आधा भागमा पानी रहेकाले अबको पाँच दिनमा मेलम्ची खोलाको पानी काठमाडौको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।

२८ दिनको कार्ययोजना सहित पानी पथान्तरणको कार्य शुरु गरिएको भएपनि २१ दिनमा हेलम्बु देखि सुन्दरीजल पानी पथान्तरण गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गते देखि काठमाडौं उपत्यका बासिले मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । हाल काठमाडौं उपत्यकाका विभिन्न स्रोतको गरी करिब १० करोड लिटर पानी वितरण हुँदै आएको छ ।

खानेपानी मन्त्री महिन्द्र राय यादवले निर्धारित समयसीमा भित्र नै मेलम्चीको पानी पुनः काठमाडौ ल्याउन सफल भएको नेपाल भूमि डटकमलाई जानकारी दिए ।आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर आजबाट पानी पठाएको हो । बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जना भन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो ।