आजबाट मेलम्चीको सुरुङबाट दैनिक एक कराेड लिटर पानी काठमाडौंमा वितरण


७ पुस, रामेछाप ।

खानेपानी मन्त्रालयले बाढी पहिरोबाट क्षति पुगेको मेलम्ची खानेपानीको मुहान स्थल ममर्तको काम अघि बढाएको छ । आगामी २६ दिनभित्र मेलम्चीको पानी ल्याउने तयारी अनुसार निर्माण व्यवसायीले काम सुरु गरेको छ । यता मेलम्चीको पानी नआउदा काठमाडौंवासीमा परेको समस्यालाई ध्यान दिदै आजबाट मेलम्चीको सुरुङमा रहेको पानी खोलिएको छ । आजबाट दैनिक एक कराेड लिटर पानी काठमाडौंमा वितरण गर्न सुरुङमा मौज्जात रहेको पानी खोलिएको हो ।

आज खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अवलक गर्दै मेलम्चीबाट सुरुङमा मौजात रहेको पानी दैनिक एक कराेड  लिटर पानी खोल्ने निर्णय गरेको हो ।
मेलम्ची नदीको पानी पथान्तरणको लागि अम्बाथान हेडवक्र्ससमा हुँदै गरेको मर्मतसम्भार अवधिमा मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकावासीलाई तत्कालै केही मात्रामा खानेपानी उपलब्ध गराउनका उक्त सुरुङमा जम्मा भएको पानी खोलिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले विस्तृत प्राविधिक विश्लेषण पश्चात आजै करिब एक कराेड लिटर प्रति दिनका दरले सुरूङबाट काठमाडौंका लागि केही दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकाल्दै सुरूङबाट पानी खोलिएको बताए । उनले भने,‘यो पानी सुरूङमा मौज्दात रहेको र सुरूङभित्रैको चुहावटबाट जम्मा भएको पानी हो, सुरूङभित्र चाहिने अत्यावश्यक प्रेसर खस्किन नदिई पानी निकालिएको हो, तत्काल सुरूङबाट दिनसकिने यो पानीको मात्रा लामो अवधिसम्म दिन सकिने वा नसकिने भन्ने यथार्थता लाई यकीन गर्न दुई तीन दिन पानी सञ्चालन गर्दा सुरूङभित्रको प्रेसर चाहिनेभन्दा तल नखस्केर स्थिर रहने वा नरहने कुरामा भर पर्छ ।’
सुरूङको अम्बाथान पोर्टलभित्र, ग्याल्थुम अडिट, सिन्धु अडिट र सुन्दरीजल गेट अवस्थित चार स्थानमा जडित पानीको चाप मापक यन्त्रमा नियमित चाप (प्रेसर)को निगरानी गर्दा न्यूनतम रुपमा आवश्यक प्रेसर भन्दा तल खस्किने अवस्थामा सुरूङबाट पानी दिन नसकिने अवस्था आउनछ, सुरूङमा क्षति हुनबाट जोगाउनका लागि पानी दिन बन्द गरिनेछ, बन्द गर्नैपर्ने अवस्था नआउञ्जेल दैनिक पानी दिईनेछ, उनले भने ।
साथै अयाोजनाले शिवपुरी निकुञ्जको धाप ड्याममा संलकन भएको पानी प्रतिदिन २ करोड लिटरका दरले आजसम्म ३० करोड लिटर पानी सापटी लिई काठमाडौंमा बितरण गरेको बताएको । निर्देशक अन्सारीले थप ३० करोड लिटर पानी सापटी लिन मन्त्रालय र आयोजनाको टिम प्रयासरत रहेको बताए ।

पानी प्रशोधन केन्द्रमा सचिव आचार्यसहित मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटा, सिडिई माधव नेपाल, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीहरू, परामर्शदाताका टिम लिडर मणि नारायण लगायतको टोलीले पानी प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरेको थियो ।