नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका बिषयमा छलफल भएको छ । बुधवार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तब्य भएको भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताउनुभयो ।

‘साउदीमा नेपालीहरुको श्रमले ठुलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र टेक्नोलोजी नेपालको भौतिक विकासमा आवश्यक छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘साउदी अरबमा करिव ४ लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरुले पनि केही दक्षता पाएकै छन् । त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौ, त्यसका लागि साउद सरकारको सहयोग हामीलाई आवश्यक छ ।’

साउदी सरकारले साउदी विकास कोष मार्पmत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गर्नुभएको छ । ‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरउन्नति हुँदैछ, त्यसका लागि विकासलाई तिव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ’ मन्त्री ज्वालाले भन्नुभयो ।

साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफुहरु तयार रहेको बताउनुभएको छ । ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनु पर्यो’ राजदुत हमिदले भन्नुभयो । साउदी अरेबियाले वल्ड एक्सपो २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ । साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताउनुभयो ।