अलपत्र त्रियुगा पुलको काम एक बर्षमा सक्ने मन्त्री ज्वालाको प्रतिबद्धता


काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बर्षौदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण ब्यवसायीलाई निर्देशन दिनुभएको छ ।
तीन बर्षभित्र काम सक्नेगरी महालक्ष्मि लोकप्रिय निर्माण कम्पनीले २०६७ सालमा काम थालेको थियो । तीन बर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्नभई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए ।
पुल भत्किएको दुई बर्षसम्म निर्माण कम्पनीले काम नथालेपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधिहरु डेलिकेशनका लागि आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको छ ।
‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण ब्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ’ मन्त्री ज्वालाले भन्नुभयो ‘दिर्घ रोगी योजनामाथी एक्शन थालिसकेका छौ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक बर्षभित्र सक्नु पर्दछ ।’ मन्त्री ज्वालाले त्रियुगाको पुल एक बर्षभित्र सक्नेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।
कार्यबहाक सचिव अर्जुन थापाले क्रानिकरुपमा रहेका पुलहरु अब बन्नेक्रममा रहेको बताउनुभयो । ‘देशभर साढे चार हजार पुलहरुको निर्माण कार्य चलिरहेको छ, त्रियुगा, कमला र जब्दीघाट तीन पुलमात्र समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिकरुपमा खोजिसकेका छौ ।’
उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल बर्षौदेखि अलपत्र छ । अलपत्र पुलका बिषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।
सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, नीजि सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक बर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।