राष्ट्रियसभा र प्रदेशसभाको काम छैन, खारेज गरे हुन्छः बामदेव गौतम


काठमाडौं, ६ साउन । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले भने,‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत आरोप हो ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले भने–‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कमचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’
अहिलेको पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर सोधिएको एक प्रश्नमा ? गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए । उनले भने–‘संसारका अरु महत्वपूर्ण देशका एयरपोर्टहरुमा प्रमुख रुपमा सेना खटेको हुन्छ । त्यसपछि प्रहरी पनि रहेका हुन्छन् । अरु धेरै भन्सारलगायत सबै संस्थाहरु संलग्न हुन्छ्न। हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर काम गर्ने नेपाल प्रहरीले गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होईन । भन्सारले माग गर्यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ । विदेशबाट आउने सामान वा किनेर ल्याउने होस वा कसैले उपहार दिएर ल्याएको होस, त्यो सबै भन्सारमा जान्छ । नेपाल प्रहरीको सुरक्षासम्बन्धी काम हुन्छन् । अनेकपटक नेपाल प्रहरीले भन्सारबाट छुटेर बाहिर आईसकेका त्यस्ता, भन्सार छल्नेहरुलाई पक्रिएर कारबाही गरेको छ। भन्सारभित्रै प्रवेश गर्न पाउँदैन् । प्रहरी र अरु निकायको आ–आफ्नो कार्यक्षेत्र हुन्छ । सामान ल्याउने र लैजाने जतिपनि कामहरु छन्, ती काम भन्सारबाटै हुन्छ ।’
राजनीतिक नेतृत्वको संलग्नताविना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त ? भन्ने अर्को प्रश्नमा उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्रीपनि प्रधानमन्त्रीपनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् । त्यसो भएर सुन आओस कि अरु कुनै विषय आउन् कि ? त्यसमा सिधै मन्त्री जोडिने अनि प्रधानमन्त्री जोडिने वा राष्ट्रपति जोडिने हुँदैन् ।’
सुन तस्करीको सवालमा उनले अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको उठाए । उनले भने,‘यो त सबभन्दा ठूलो विषय नेपाललाई होईन, कुन ठाउँबाट आयो यो ? यो हङकबाट आयो भनिएको छ । हङकङजत्तिको सुरक्षित ठाउँ अरु छैन् । त्यहाँबाट आयो । त्यो ठाउँमा तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भयो । यहाँपनि त्यो जालो रहेछ । यो जालो विभिन्न कालखण्डमा देखापरेको छ।’
तस्करीबाट नेपाल भित्रिने ठूलो परीमाणको सुन कहाँ जान्छ त ? भन्ने पत्रकारको अर्को जिज्ञासमा भने गौतमले सधैंभरि सुन नआउने सुनाए । ‘सधैंभरि सुन आउँदैन् । सधैंभरि त्यस्तो अरबौं रुपैयाँको सुन आउने हो भने यो संसारभरि नै नेपालले नै सुन सप्लाई गर्यो भन्ने हुन्थ्यो ।’–गौतमले भने । उनले अघि भने–‘त्यस्तो हुँदैन् । त्यो पनि तस्करीको सुन हुन्छ । त्यो तस्करीको सुन धेरै ठाउँ छानबिन हुन्छ, के हुन्छ ? के हुन्छ ? कहीँनिर पर्छ कि भनेर सबै सेटिङ गरेर मिलाएर सबै सबै हिसाब मिलाएर आउने हो । यसपटक पनि जम्मै मिलाएको रहेछ । भन्सार पनि छलेर बाहिर गैसकेको थियो । राजश्व अनुसन्धानले त्यो थाहा पाएर, यो पहिले नै थाहा थियो । यति सुन आउँदैथियो भनेर यो पहिले नै थाहा थियो । नेपाल प्रहरीलाई पनि थाहा थियो । भन्सारलाई पनि थाहा थियो । राजश्व अनुसन्धानलाई पनि थाहा थियो । त्यो सबै उनीहरुले हेरिरहेका थिए । कहाँ कहाँबाट यिनीहरुले छलेर आउँदैछन् भनेर सबै जानकारी गरिराखेका थिए ।’
उनले तस्करीबाट आएको सुन नेपालमा केही मात्रामा खपत हुने गरेको भएपनि धेरै मात्रामा भने बाहिर जाने पनि टिप्पणी गरे । उनले भने,‘अब केही केही नेपाल खपत हुन्छ होला क्यारे । तर, मैले विचार गर्दा नेपालमा खपत हुने सुन त राष्ट्र बैंकले नै सबै व्यापारीहरुलाई दिएको देख्छु । तस्करी गरेर ल्याएको सुन नेपालका व्यवसायीहरुले आधारभूत रुपमा प्रयोग गर्दैनन् । यो बाहिर नै जान्छ ।’
सुन तस्करीमा वामदेवको पनि संलग्नता कतै छ है भन्ने छ नि ? भन्ने पत्रकारको अर्को प्रश्नमा वामदेवले प्रमाण दिन चूनौति दिए । उनले भने,‘यदि त्यसो भन्ने छ भने प्रमाण दिनुपर्यो । म त्यसको सामना गर्न तयार छु । मुखमा स्वाद छ कसैलाई, यसो भन्दाखेरि स्वाद आउँछ अनि मनोरञ्जन हुन्छ यदि कसैलाई भने, तपाईँहरुलाई पनि भन्न छुट छ । अरु कसैलाई पनि छुट छ । तर, यथार्थमा यदि गलत कामको निम्ति तपाईँले सोध्नुहुन्छ, आरोपित गर्नुहुन्छ भने तपाईँसँग प्रमाण हुनुपर्छ । प्रमाणविना गर्नुभयो भने तपाईँले ठूलो अपराध गर्नुहुन्छ । र, हाम्रो धर्म र संस्कृतिअनुसार महापापमा तपाईँ पर्न सक्नुहुन्छ । राजनीतिक वृत्तमा उठेका प्रश्नहरुमा वामदेवको नाम आउँदैन् । अराजनीतिक क्षेत्रमा रहेका कतिपय भडुँवा व्यक्तिहरुले चाहीँ वामदेवको नाम ल्याउँछन् ।’
उनले आफू तीन पटक मुलुकको गृहमन्त्री भएको र सो अवधिमा सबैतिरबाट कामको प्रशंसा पाएको स्मरण गराए । उनले भने–‘आजसम्म पछिल्लोपटक गृहमन्त्री भएर मैले छोडेको २०७३ सालमा हो, ०७२ को असोजमा नयाँ संविधान जारी भयो । नयाँ प्रधानमन्त्री बन्ने स्थिति आएपछि मैले छोडेको हो । त्योभन्दा अघि २ पटक भएँ । म जम्मा तीनपटक गृहमन्त्री भएँ । म भएको बेला शान्ति सुरक्षाको ग्यारेन्टी भएको छ । म गृहमन्त्री भएको बेला, ०७२ मा महाभुकम्प गयो, हामीले त्यतिवेला गरेका उद्धारका कार्यहरुले खासगरी सेना र अरु सिभिल व्यक्तिहरुले प्रशंसा गरेर गएका छन् । त्यो भन्दा अगाडि पनि शासन र प्रशासन भन्ने के हो ? गुण्डाहरु सबै समाप्त भएका थिए । वामदेव गौतम जनताको शासकको रुपमा नेतृत्व गर्ने व्यक्ति हो । मैले एक पैसा पनि भ्रष्टाचार गरिनँ । व्यभिचार पनि मैले गरिनँ । तस्करहरुसँग मेरो कहिल्यैपनि सम्बन्ध भएन ।’
तपाईँको कार्यकालमा सुन तस्करी हुन्थ्यो कि हुन्थेन ? भन्ने पत्रकारको अर्को जिज्ञासमा भने वामदेवले भयो होला भन्ने जवाफ दिए । उनले भनेका छन्–‘भयो होला । तर, यस्तो किसिमको भएको भए तपाईँले देखाउनु न ।’
हालै भएको क्विन्टल सुन तस्करीबारे आफूले थाहा नपाएको उनको जिकिर छ । उनले भने,‘मैले थाहा पाईनँ । मैले किन थाहा पाउने हो र ? मैले त रेडियोले भनेपछि थाहा पाएको हुँ ।’
गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको बताए । उक्त प्रकरणबारे उनले भने–‘ठूला माछा किन पक्राउ परेनन् ? अब पक्राउ परेनन् त के भएर परेनन् ? जहाँबाट नेपाल प्रहरीको सिआईबी प्रवेश गरेको छ, त्यो ठाउँबाट प्रवेश गर्दा, बाटाघाटाहरु कहाँ कहाँसम्म पुगेका छन् ? त्यो बुटोबाट प्रवेश गरेको छ, त्यो एउटा ठूलो भ्रष्टाचारको बुटो छ भने तिनका जरा–कहाँ कहाँ पुगेको छ, त्यहीँ त्इहीँ जाउन् । त्यसरी पर्छन् भने साना माछा होईन, ठूला माछा अनि ठूला माछालाई पनि खाने गोही, हडियाल, घडियाल सबै आउँछन् ।’
उनले उक्त प्रकरणमा पनि छानबिनको लागि तथ्य र प्रमाण भेटिनुपर्ने बताए । उनले भने,‘कसैले न कसैले नाम लिनैपर्छ । कुनै न कुनै तथ्य, प्रमाण भेटिनुपर्छ । सबै छानबिनमा जानुपर्छ । ममाथि लगाईएका आरोपहरु अदालतमा पेश गरियोस । अदालतमा सामाना गर्न तयार छु । खुशी भएरै जेल जीवन विताउन तयार छु ।’
नेपाली सेनाको संख्या घटाउने कुरा वाहियात भएको पनि उनको तर्क छ । उनले भने,‘सेनाको सम्बन्धमा कुरा गर्नुहुन्छ भने नेपाली सेनाले ऐतिहासिक कर्तव्य निर्वाह गरेको छ, यस्तो निर्वाह गर्ने सेना संसारमा विरलै पाउँछन् । पृथ्बीनारायााण शाहले निर्माण गरेको सेना हो, १८१४ मा साम्राज्यवादी बेलायतले आक्रामण गर्यो, नेपाल कब्जा गर्न सकेन । नेपाल जोगाउने काम नेपाली सेनाले गरेको छ । नेपालमा पर्ने हरेक विपतमा जोगाउने काम पनि यही नेपाली सेनाले गरेको छ। संविधानसभाले नेपालको संविधान ०७२ जारी गर्यो, सेनाले त्यो संविधान मानेर हामी चल्न तयार छौं भन्यो । सेनाले हामी प्रतिगामी शक्ति होईन भनेर भन्यो । यो सेना–त्यसबेला निर्माण भयो, त्यस्तो सेनालाई अपमान हुनेगरि बोली र बचन दिनुहुन्न । आजको नेपालको सरक्षण त्यसैले गरेको हो । यो सेना ठूलो भयो भनेर चर्चा नगरौं ।’
आफूले सेनाको विषयमा सदनमा पनि बोलेको स्मरण गराउँदै गौतमले सेनाको संख्या घटाउनुभन्दा प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सुझाए । उनले भने,‘मैले सदनमा पनि त्यही बोलेको हुँ । सेनालाई घटाएर पैसा बचाएर देश विका गर्ने भन्नु वाहियात कुरा हो । बरु प्रतिनिधिसभाका २७५ लाई १६५ मा झारिनुदिनुपर्छ । समावेशी चरित्र त्यसैभित्र (१६५) भित्रै गरिदिनुहोस । राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन् । यसको आवश्यकत्ता छैन् । प्रदेशसभा छ, उता तलपनि ७५३ स्थानीय सरकार छ । संसारमा नभएको सरकार नेपालमा भए । प्रदेशसभा विघटन गरे हुन्छ । ती ठाउँमा गएको पैसा जोगाएर बरु विकास गर्न सकिन्छ । देश विकास गर्न योजना हुनुपर्छ ।’