बन्चरेडाँडामा बन्यो आधुनिक स्यानिटरी ल्याडफिल साइट


५ पुस, काठमाडौं ।
काठमाडौं उपत्यकाको फोहार दिर्घकालीन रुपमा व्यवस्थापन गर्ने मुख्य उदेश्य सहित बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न भएको छ । तीन बर्ष अघि निर्माण सुरु भएको ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न भएको हो ।
उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको औखरपौवास्थित सिसडोलमा फोहार व्यवस्थापन गर्न समस्या सृजना भएपछि सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अघि बढाएको थियो । आयोजना अन्तर्गत सेल वानको काम निर्माण सम्पन्न भएर सञ्चालनमा आइसककेको छ भने सेल टुको काम पनि सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाका प्रमुख रविन्द्र बोहोराले आधुनिक र नयाँ प्रविधि प्रयोग गरेर ल्याण्डफिल साइट निर्माण गरिएको बताउनुभयो । उपत्यकाबाट निस्कने फोहोरलाई ५० वर्षसम्म विसर्जन गर्न मिल्ने गरी नुवाकोट र धादिङको सीमाना बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिएको हो ।
विभागले २०७७ सालभित्र ल्याण्डफिल साइट सम्पन्न गर्ने गरी २०७६ वैशाख २२ गते लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग सम्झौता गरेको थियो । तोकिएको समयभन्दा झण्डै दुई बर्षपछि आयोजना सम्पन्न भएको छ ।
काठमाडौंको करिब वीस किलोमिटर दुरीमा रहेको ल्याण्डफिल साइट हाल फोहोर विर्सजन हुँदै आएको सिसडोल नजिकै निर्माण गरिएको छ । ल्याण्डफिल साइटबाट स्थानीयवासीलाई फोहोरको दुर्गन्ध नफैलियोस भनेर अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । तर हाल सेल वानमा काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा विभागले तय गरेको मापदण्ड पालना भने गरेको छैन् ।
ल्याण्डफिल साइटमा १५ मिटर अग्लो बाँध निर्माण गरिएको छ । आयोजना प्रम्ुख बोहोराका अनुसार फोहोरको सतह बढेको अवस्थामा उक्त बाँधलाई थप अग्लो बनाउन सकिने गरी डिजाइन गरिएको छ ।
उपत्यकाबाट दैनिक करिब बाह्र सय मेट्रिकटन फोहोर निस्कने गरेको छ । घरबाट निस्कने फोहोर स्रोतमै वर्गीकरण हुन नसक्दा फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै आएको छ । ल्याण्डफिल साइट आधुनिक र व्यवस्थित रुपमा निर्माण गरिए पनि फोहोरको बगीकरण नगरी विर्सजन गरिदै आएको छ ।
निर्माणाधिन ल्याण्डफिल साइटको क्षमता झण्डै ५० लाख घनमिटर रहको छ । अहिले दैनिक विसर्जन हुनसक्ने फोहोर कुहिने÷नकुहिने, पुनःप्रयोग हुने समेत एकै ठाउँमा विर्सजन गर्दा २० बर्ष र छुट्याएर पुनःप्रयोगमा नआउने फोहोर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहोर व्यवस्थापन हुनसक्ने गरी निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्नको लागि उपत्यकावासीलाई आग्रह गरेपनि कार्यान्वयन हुन सकिरहेको छैन् ।

बन्चरेडाँडामा सरकारले अधिग्रहण गरेको करिब १७ सय रोपनीमध्ये १०४ रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाँडाको आधार क्षेत्रमा ल्याण्डफिलको लागि पूर्वाधार निर्माण गरिएको छ । बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर विर्सजनकै लागि कोल्पु खोलालाई डाइभर्ट गरिएको छ । सिसडोलजस्तो अब लिचड सिधै खोलामा मिसनबाट रोक्ने गरी ल्याण्डफिल साइट निर्माण गरिएको हो ।
फोहोर व्यवस्थापन हुने बन्चरेडाँडामा दुई वटा फोहोर विर्सजन केन्द्रबाट आउने दुषित तरल पदार्थ जम्मा गर्न २० हजार लिटर क्षमताका दुई वटा ट्यांकी निर्माण गरिएको छ । आधुनिक प्रविधिको प्रयोग मार्फत फोहोर विर्सजन केन्द्रबाट उत्पादन हुने लिचडलाई टंयांकीमा जम्मा हुने व्यवस्था गरिएको छ । सुरुमा एउटा पोखरीमा जम्मा हुने लिचर्डलाई अर्को पोखरीमा पठाएर पुनः विर्सजन केन्द्रमै पठाइने व्यवस्था मिलाइएको छ ।
यसैबीच शहरी विकास मन्त्री मेटमणि चौधरी र शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलवार निर्माण सम्पन्न बन्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले स्थानीयको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।