पशुपतिनाथको चारवटै ढोका खुला गरेका छौः सदस्य सचिव थापा


१४ भदौ, काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले दर्शनार्थीको सहजतालाई ध्यानमा राखेर पशुपतिनाथको मन्दिरको चारवटै ढोका खुला गरिएको बताउनुभएको छ । उहाँले दर्शनार्थीले लामो समय लाइनमा बस्नु पर्ने बाँध्यतालाई हटाएर छोटो समयमा नै दर्शन गर्ने सहज होस भनेर चारवटै ढोका खुला गरिएको बताउनुभएको हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको बताउदै थापाले दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिने बताउनुभयो ।

कोषका अनुसार पशुपतिनाथको पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस वर्ष कोटेश्वर–तीनकुने (सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । तेस्रो लाइन गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । लाइनै पिच्छे स्वयम्सेवक परिचालन हुनेछन् ।

दिउँसोको समयमा भने भिड अझ बढ्न सक्ने भएकाले त्यही अनुसारको व्यवस्था मिलाइएको बताउदै सदस्य सचिव थापाले अहिले सहज रुपमा दर्शनार्थीले मन्दिरको दर्शन गरिरहेको बताउनुभयो ।