महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने


नेपालभूमि, ललितपुर ।

ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।

एमाले महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’

नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरु बोलि नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको छ ।’

गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए ।

गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौं । प्रतिस्पर्धात्मक रुपमा भर्ना हुन्छ । ’

गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रुपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो ।

गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत,सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन,आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाँउपालिकाले जानकारी दिएको छ ।