नागरिकताबारे एमाले सांसदको अभिव्यक्तिप्रति विरोध खतिवडाको नियमापत्ति


नेपालभूमि, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलको अभिव्यक्तिप्रति नियमापत्ति जनाउनुभएको छ ।

नेपाल नागरिकता ऐन-२०६३ संशोधन गर्ने विधेयकमाथि छलफलका क्रममा एमाले सांसद पोखरेलले ‘सैनिक तथा प्रहरी जुंगा भएकाले आफूले जन्माएका सन्तानलाई नागरिकता दिन नचाहने, भाग्ने, लुक्ने’ भन्ने शब्द प्रयोग गरेको भन्दै नियमापत्ति जनाउनुभएको हो ।

सांसद खतिवडाले एमाले सांसद पोखरेलको अभिव्यक्ति नेपाल प्रहरी र नेपाली सेनाको मानमर्दन गरेको बताउँदै सो सामाजिक सद्भाव बिथोल्ने खालको रहेको टिप्पणी गर्नुभयो । उहाँले उक्त शब्द घातक रहेको भन्दै यस्ता अभिव्यक्तिले समाजमा दूरगामी असर पार्ने बताउनुभयो ।

उहाँले सो शब्दहरु संसदको रेकर्डबाट हटाउन समेत सभामुख अग्निप्रसाद सापकोटा समक्ष माग समेत गर्नुभयो । सभामुख सापकोटाले उक्त अभिव्यक्तिमाथि विचार गरिने तथा हटाउने खालको देखिए हटाइने समेत आश्वासन दिनुभयो । यद्यपि उक्त शब्द प्रतिनिधि सभाको आधिकारिक युट्युब च्यानलमा भने नहटाएर जस्ताको त्यस्तै राखिएको छ ।