कर्मचारीमाथि निर्घात कुटपिट गर्ने घिसिङविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी


नेपालभूमि, काठमाडौं । 

सुन मान्छेको नामले चिनिएका ठेकेदार सुवास घिसिङको विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी आक्रमण गरेर टाउको फुटाएका घिसिङका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो ।

कर्मचारीको टाउको फुटाएपछि घिसिङले प्रहरीले पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनले असार २७ गते दिउसो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठमाथि एक्कासी आक्रमण गरेर टाउको फुटाइदिएका थिए ।

श्रेष्ठको टाउकोमा दुई टाका लगाइएको छ । घिसिङको आक्रमणबाट श्रेष्ठको टाउकोको पछाडिपट्टि पनि चोट लागेको छ । श्रेष्ठसँगै अनुगमनमा गएका तीन जना मध्य भोलि ढुङ्गानाले घिसिङले ज्यान मार्ने गरी आक्रमण गरेको जाहेरीमा उल्लेख गरेका छन् ।

जाहेरीमा  ढुङ्गानाले भनेका छन्,‘म र निरज भुजेलले तत्काल हस्तक्षेप गरी घिसिङबाट नछुटाएको भए ज्यान मार्ने निश्चित थियो, हाम्रो कारणले मात्र श्रेष्ठलाई बचाउन सम्भव भएको हो ।’ जाहेरीमा आक्रमण गर्ने घिसिङलाई हदैसम्म कैद र जरिवानाको माग गरिएको छ ।