पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधिमाथि रोक लगाउने कोषको निर्णय


२९ असार, काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रभित्र हुँदै आएको उच्छृंखल  गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ । पशुपति क्षेत्रभित्र मानविय कारणले अशान्त बन्नुको साथै पशुपन्छीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै साउन १ गतेबाट लागू हुने गरी उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो । कोषले हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउन गलत गतिविधि रोक्ने कामलाई अभियानकै रुपमा अघि बढाउने बताएको छ ।

आन्तरिक मात्र नभई विदेशी पर्यटकहरुको समेत रोजाइको गन्तव्य बन्दै आएको पशुपति क्षेत्रभित्र पछिल्लो समयमा चर्को स्वरमा संगीत बजाउने जुम्बा डान्स गर्ने योगको नाममा अप्राकृतिक गतिविधि हुँदै आएको छ । कोषले धार्मिक आस्थाको केन्द्रलाई ध्यान गर्ने स्थलको रुपमा कायम राख्नको लागि अप्राकृतिक गतिविधि रोक्न काम सुरु गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले विशुद्ध रुपमा योग र ध्यान गर्ने केन्द्र पशुपति क्षेत्रमा पछिल्लो समयमा गलत अभ्यास भएपछि त्यसलाई रोक्न काम सुरु गर्न लागिएको बताए । उनले भने,‘विश्व सम्पदा सूचिमा रहेको पशुपति क्षेत्रलाई शान्त बनाइ राख्न कोषले काम सुरु गरेको छ ।’ सुरक्षा निकाय, स्थानीयवासी र सरोकारवाला निकायको सहकार्यमा कोषले अभियानकै रुपमा गलत गतिविधि पशुपति क्षेत्रभित्र हुन नदिने उनले बताए ।

पशुपति क्षेत्रको भण्डारखाल,श्लेष्मान्तक वन तथा मृगस्थली, शिव र पार्वतीको क्रिडास्थलको रुपमा रहेको बताउदै विशुद्ध धार्मिक आध्यात्मिक ध्यान केन्द्रमा उच्छृंखला गतिविधि हुन गलत भएको बताएको छ ।
कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु हुन आपत्तिजनक विषय भएको बताउदै ब्याटमिन्टन, फुटबल, भलिवल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्ने कार्य अब हुन नदिने बताएको छ । धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपन्छीहरु जावतजावत गर्न कठिन हुनुको साथै उनीहरुको दैनिकीमै असर पुगेको कोषले बताएको छ ।

सदस्य सचिव थापाले भने,‘पशुपति क्षेत्रभित्र भएका अप्राकृतिक गतिविधिले बाँदर आक्रमक भएर वटुवामाथि आक्रमण गर्ने क्रम बढेको छ, बाँदर जंगल छोडर वस्ती पस्दा समस्या सृजना भएको छ, गलत काम रोक्ने काममा कोष लागेको छ ।’

भण्डारखाल क्षेत्रमा गलत क्रियाकलाप बढदा साधुसन्तहरुको ध्यान र पुजामा समेत नकारात्मक असर पुगेको बताउदै उनले यस्ता क्रियाकलापले ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटविरुवा जंगल क्षेत्रमा रहेका संरक्षित सम्पदाहरुको समेत विनाश बढेको बताए ।

कोषले साउन १ गतेदेखि लागू हुने गरी हाल हुँदै आएको उत्श्रुखल गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्ता खालका गतिविधि नगर्न र नगराउन आग्रह गर्दै कोषले आग्रहलाई वेवास्था गरे कानुन बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।