एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय


नेपालभूमि, काठमाडौं ।

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुन सक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपीपी अस्वीकार गर्न दबाब दिएका थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।