लैंङिगक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी कार्यशाला सुरु


नेपालभूमि, काठमाडौं।

लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवन सक्रिय ३५ जना महिलाको सहभागिता  छ ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेसी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिला भित्रको विविधतालाई वकालत सुरु गरेको छ ।

समारोहमा हिमाल पहाड, मधेस, नेवारी सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल सुरु भएको आयोजकले बताएको छ । वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा सबै, दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिए ।

लैङ्गिक, जातीय र आर्थिक रूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाल अब राज्यका सवाल बनाउन नसके समतामूलक संवृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरूको टिप्पणी थियो । ३ दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तर्कृयात्मक प्रशिक्षण दिइनेछ।