८ औं केबिन रोहन उपत्यका प्रतियोगीता दक्षिणकाली नगरपालिकामा हुने


काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एशोसिएसन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता फागुनको तेस्रो साता दक्षिणकाली नगरपालिकामा हुने भएको छ । संघद्धारा आगामी फागुन १८,१९ र २० गते दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता हुने भएको हो । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किक बक्सीङ संघका अध्यक्ष विनोद गुरुङको सभापतित्वमा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा आज पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

नगरप्रमुख बस्नेतले प्रतियोगीतालाई नगरपालिका कार्यपालिका बैठकमा छलफल गरेर आवश्यक सहयोग गर्ने बताए । खेलको नीति र नियम अनुसार खेल खेल्दा कुनै किसिमको खतरा नहुने र खेलेर भन्दा पनि पेलेर जित्नुपर्छ भन्ने मानसिकता हुन नहुने उनको धारणा थियो ।
दक्षिणकाली नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष जय थापा मगरले प्रतियोगिता सफल गराउन वडाबाट सहयोग हुने प्रतिबद्धता जनाए । संघका संरक्षक कृष्ण गुरुङले उक्त खेलको लागि २ लाख सहयोग गर्ने बताए भने असियारा कराते संघका अध्यक्ष अनिल न्यौपानेले खेलाडीलाई ३ सय वटा टिसर्ट उपलब्ध गराउने बताए ।
संघका अध्यक्ष विनोद गुरुङले खेलको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै सबैको सहयोग र साथले यो कार्यक्रम भव्य र शव्यरुपमा सफल हुनेमा विश्वस्त व्यक्त गरे ।