विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण


काठमाडौं,१५ साउन  । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत सोमबार वृक्षरोपण गरेको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहरुमा कार्यारत कर्मचारीहरुले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरुमा वृक्षरोपण गरेका हुन् । कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका एक लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेका छन् ।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने छ ।
प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्र परिसरमा बिरुवा रोपेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेतले  केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गर्नुभएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीहरुबाट विभिन्न प्रजातिका तीन सयभन्दा बढी बिरुवा रोपिएको छ । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन् ।
कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिनुभयो । वातावरण संरक्षण र विकासलाई एक अर्कार्को बिरोधीको रुपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एक अपासका बिरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताउनुभयो ।
सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवाहरुलाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत् आयोजनाहरुको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताउनुभयो ।