वरियतामा असन्तुष्टि छैन, भोलिदेखि मन्त्रालय जान्छु : उपप्रधानमन्त्री श्रेष्ठ


नेपालभूमि, काठमाडौं । 

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले वरियताको विवादले मन्त्रालय नगएको भन्ने विषय हल्ला मात्रै भएको बताएका छन् । शनिबार राजधानीमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको साक्षात्कारमा उनले आफू भोलिदेखि निरन्तर मन्त्रालयमा जाने बताउँदै वरियतामा असन्तुष्टिका कारण मन्त्रालय नगएको भन्ने कुरा हल्ला मात्र रहेको बताएका हुन् ।

‘केही सञ्चारमाध्यममा मैले वरियताक्रममा असन्तुष्ट भएर मन्त्रालय नगएको भन्ने समाचार आएछन् । बाहिर आएजस्तो केही होइन । स्वास्थ्य अवस्था ठिक नभएका कारण म घरमै आराम गरिरहेको थिएँ । भोलिदेखि निरन्तर मन्त्रालयमा जान्छु ।’, उनले भने ।

उपप्रधान एवं अर्थान्त्री विष्णु पौडेलभन्दा आफू वरियताक्रममा तत्कालीन नेकपाकाल हुँदा र यसअघिका क्याबिनेटको भूमिकामा समेत सिनियर रहेको उनको दाबी छ । यद्यपि निस्वार्थ भएर देश निर्माणमा लाग्नुपर्ने बेला आफू वरियताक्रममा नअल्झिने उनको भनाई छ ।

मन्त्रालयबाट प्रदान हुने सेवाबाट जनतालाई प्रत्यक्ष लाभ हुने गरी सक्रियतापूर्वक लाग्ने बताएका उपप्रधानमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भोलिदेखि मन्त्रालयका कामहरुको ब्रिफिङ, समस्या र समाधानमा विषयको छलफलमाकेन्द्रीत हुने समेत बताए । उपप्रधानमन्त्री श्रेष्ठले सबै क्षेत्रका सुझाव सल्लाह लिएर मन्त्रालयका कामलाई प्रभावकारी बनाउने बताए । कार्यक्रममा पूर्वाधार क्षेत्रमा कलम चलाइरहेका झण्डै डेढ दर्जन बढी पत्रकारहरूको उपस्थिति थियो ।