शहरी शासकीय तथा पूर्वाधार आयोजनाको २ दिने समीक्षा गोष्ठी शुरू


नेपालभूमि, काठमाडौं ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाद्वारा आयोजित २ दिने समीक्षा गोष्ठी काठमाडौंमा शुरू भएको छ । आयोजना सञ्चालित देशभरका ३३ वटा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा आयोजनाका अधिकारीहरु सम्मिलित गोष्ठी मंगलबारसम्म चल्नेछ ।

गोष्ठीको पहिलो दिन आयोजना सञ्चालित १२ वटा नगरपालिकाले सञ्चालन गरिरहेका आयोजनाको प्रगति विवरण प्रस्तुत गरिरहेका छन् । उनीहरुले आयोजनामा भइरहेको प्रगति र उक्त आयोजनाले कोभिड १९ महामारीपछि स्थानीय तहमा सिर्जना भएको रोजगारीको विवरण समेत प्रस्तुत गरिरहेका छन् ।

विश्व बैंकको रिण सहयोगमा विगत ३ वर्षदेखि ३३ वटा नगरपालिकामा उक्त योजनाहरु सञ्चालनमा रहेका छन् । कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगालले आयोजनामार्फत् कोभिड महामारीपछि स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो ।

उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुको आगमन भएको र आर्थिक वर्ष भर्खर शुरू भएकाले योजना छनोटमा छिटो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आज आयोजित गोष्ठीले योजना सञ्चालन र निर्माणमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका निर्देशक रविन्द्र बोहराले आयोजनाबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न सघाउ पुगेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस आयोजनाको अन्तिम वर्ष भएको बताउँदै अधिकांश नगरपालिकामा कार्यान्वयनको अवस्था उत्साहजनक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेरभोसले नेपालमा संघीयताको कार्यान्वयनको अवस्थाले आफू खुशी रहेको बताउनुभयो ।

उहाँले पछिल्लो केही दशकदेखि नेपालमा शहरीकरणको तीव्र विकास भइरहेको बताउँदै यसमा शहरी शासकीय पूर्वाधार आयोजनाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सो आयोजना सञ्चालित स्थानीय तहमा कोभिड १९ महामारीपछि रोजगारीको स्रोत सिर्जना गरेका बताउनुभयो ।