बाढी–पहिरो हेर्ने छुट्टै निकाय बनाउन सांसद केसीको माग


नेपालभूमि, काठमाडौं ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

सांसद केसीले काठमाडौंको ग्रामिण क्षेत्रमा पनि बाढी र पहिरोको जोखिम हुने गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद हरिराज अधिकारीले घना वर्षात्का कारण जोखिममा परेका गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १ का १५५ घरधुरीलाई तत्काल राहत उपलब्ध गराई बसोबासको बैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरे ।

बुधबार अपरान्ह ठूलो घनत्वको वर्षातका कारण आएको दुई वटा पहिरोमा परी ४० घर बगाएको जानकारी गराए । उनले पहिरोले गाईबस्तु, अन्नपात सबै बगाएकाले त्यहाँका नागरिकलाई राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

भूकम्पको बेलामा पनि सो बस्ती जोखिममा परेको उल्लेख गर्दै उनले विचल्लीमा परेका उनीहरुलाई उचित बसोबासको व्यवस्था गर्न ढिलाई नगर्न नहुने पनि बताए ।