मुस्ताङमा हिम पहिरो, ११ जना घाइते


मुस्ताङ । मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आज आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोको गोडामा चोट लागेको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण आएको छैन ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको मानापाथी हिमालबाट हिम पहिरो खसेको शर्माले बताउनुभयो । हिम पहिराे खस्दा केही चौरी गाइ हराएका स्थानीयवासीले बताएका प्रहरीले जनाएकाे छ । हिम पहिरोले स्थानीयवासी रमला तुलाचनको घरको छत पनि उडाएको छ ।

हिम पहिरो खसेको ठाउँबाट लेदो पनि खसिरहेकाले त्यहाँका स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । फेरि हिमपहिरो आयो भने बस्ती जोखिममा पर्न सक्ने भन्दै उनीहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । तर अहिलेकै अवस्थामा भने बस्ती जोखिममा नपर्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।