एमालेको महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने


११ कात्तिक, काठमाडौं ।
नेकपा एमालेको आगामी १० औं महाधिवेशनमा १ हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीले चितवनमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको हो ।

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीकले ७ लाख २१ हजार पार्टी सदस्यहरु मध्येबाट १ हजार पाँच सय ३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुने निर्णय गरेको बतए । उनका अनुसार भूगोलबाट १ हजार १ सय ९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार पाँच सय पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुने निर्णय भएको छ । पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिने प्रवक्ता ज्ञवालीले बताए ।