मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै


काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिने शाक्य मन्त्रिपरिषद्का एक मन्त्रीले जानकारी दिए । प्रदेश सभामा बुधबार मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो।

त्यसअघि नै उनले राजीनामा दिन लागेकी हुन् । गत असोज २४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्।

बागमती प्रदेश सभामा १०९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्ने थियो । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् ।

सत्तारूढ गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन् । बागमतीमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन् । त्यसैगरी, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि रहेका छन् ।