माओवादी एक नम्बर पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : प्रचण्ड


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ । पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीलाई एक नंको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।”

उहाँले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताउनुभयो । “केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन्डै सङ्घीयता जाने अवस्थामा पुग्यो गणतन्त्र झन्डै फेल हुने अवस्थामा पुग्यो”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले माओवादीसँग अनावश्यक खेल खेलेका कारण ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकारहरू पनि त्यस्तै अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए ।”

तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “पहिचान र अधिकारको लडाइँ हामीले लड्ने तर काम गर्ने कालु मकै खाने भालु भने जस्तै भयो ।” कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गर्नुभयो ।