रानीपोखरीबाट लेउ निकालिँदै


काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो ।

पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए । पोखरीमा पानीको मात्रा घट्दै गएकाले पनि थप समस्या भएकाले पानी भर्ने विषयमा पनि छलफल भइरहेको उनले जनाएका छन् ।

पुनःनिर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो । अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी रहेको छ । कामपाले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ । गोरखा भूकम्पका कारण क्षति भएको रानीपोखरीको गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनिर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको थियो । यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न गरेको हो ।