वितरणमुखी बजेटलाई सुधार्नु पर्छः मुख्यमन्त्री पौडेल


हेटौंडा, २३ असोज
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र बिमोचन गर्दै उहाँले नीति अनुसार काम नभए उद्देश्य प्राप्ती नहुने बताउनुभएको हो ।
अहिले पनि तीनै तहले बिकासमुखी भन्दा पनि बितरणमुखी बजेट प्रस्तुत गरीरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बजेटलाई अहिलेपनि छर्ने परिपाटी रहेको छ, यो हामीले अन्त्य गर्नुपर्छ ।’ सम्बृद्धि हासिल गर्न उत्पादनमुखी काम गर्न जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले मौलिक हकको अनुभुति हुनेगरी कार्यान्वयन गर्ने, दायित्व तीनै तहका सरकारको भएको बताउनुभयो ।
देशका लागि स्थायित्व र दिगो रूपमा विकास लक्ष्यहरु हासिल गर्दै, समृद्ध नेपालःसुखी नेपालीको सपनालाई टेवा दिने महत्वपूर्ण रूपमा बागमती प्रदेश रहेको उहाँले बताउनुभयो । समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच प्रदेश सरकारको रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो–‘भौगोलिक विकटता, जनसांख्यिक विविधता, समावेशीताजन्य चुनौती र समस्याहरूसँग जुध्दै समाजवाद उन्मुख वातावरण तयार पार्ने दायित्व समेत प्रदेश सरकारको छ ।’ प्रदेशले दिगो विकासका रणनीतिक प्राथमिकताका विषयगत लक्ष्य तथा उद्देश्यहरूको सूचकहरू जसलाई गतवर्ष प्रकाशित पहिलो आवधिक योजनामा समावेश गरिएका जानकारी दिदैं यसैलाई दिगो विकासको लक्ष्यको आधारभूत तथ्यांक स्रोतको रूपमा प्रयोग भएको जानकारी दिनुभयो ।

प्रतिवेदनमा नेपालको दिगो विकासको चित्रण प्रस्तुत गर्नको साथै महत्वपूर्ण वर्षको रूपमा रहेको २०१९, २०२२ र २०२५ को लागि प्रमुख आधार तथ्यांकहरू समावेश गर्दै सन् २०३० को लागि मार्गचित्र प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘लक्ष्यहरू पूरा गर्नका लागि केही समय चुनौति सृजना गरेपनि हाम्रा विकासका लक्ष्यहरू, निर्धारित उद्देश्यहरू समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी नीजि र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक छ ।’