कोरोनाबाट जनतालाई जोगाउनु पहिलो कर्तव्य होः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र अहिले कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताउनुभएको छ ।

बडादशैँका अवसरमा आज देशवासीका नाममा दिनुभएको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्योपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गर्नुभयो ।


प्रधानमन्त्री ओलीले बडादशैंँका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौंँ उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिनुभयो ।यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन ।

सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालीहरुको ठूलो चाड, बडादशँैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
बडादशैंँलगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।
यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् । साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।
तर चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
बडादशँैंलाई विभिन्न वर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भुइँचालो गएको साल पनि दशँैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपालमुनि बसेर भए पनि यस परम्परालाई धान्यौंँ ।
पारिवारिक मिलनको चाडका रुपमा वर्षमा एकचोटि हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौंँ ।
यस वर्ष हामी, कोभिड–१९ महामारीको भुमरीबीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौंँ । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौंँ । पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौंँ । सतहमा सबै स्वस्थ देखिन्छौंँ, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौंँ ।
अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।
ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।
दशैंँको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । अहिले राजधानी काठमाडौंँ उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ । यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ । त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आप्mना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ ।
कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन । म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ । पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ ।
सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् । गत बर्ष चैत ११ गते पहिलोचोटि लकडाउन गरेदेखि हालसम्मै जनतालाई भयभीत र असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् । सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ । तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः पmाटेका छन् । जनताको यही सकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै ०।६ प्रतिशतभन्दा माथि जान सकेको छैन । निको हुने दर क्रमशः बढ्दै छ ।
मैले भन्दै आएको छु, महामारीविरुद्धको यस लडाइँमा हामी प्रत्येक सिपाही हौंँ । हामी हरेकको यस लडाइँमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा, अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ । यसो भनिरहँदा, सरकारले सक्ने आफैंँ बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्र्दभमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ । सगसगै स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आप्mनै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंँमा प्रशंसनीय छ ।
कनिन घडीमा नै परिवार, नातागोता, छरछिमेकी र जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ । पीडाका घाउमा पारस्परिक सहयोग र एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ । आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ । संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने र उपचार नपाउनेजस्तो स्थिति हुनुहँुदैन । अत्यन्त सावधानी र आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न र छिटो निको बनाउन मद्दत पु¥याउँछ ।
यस महामारीविरुद्धको हाम्रो लडाइँ राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन र हुनुहुँदैन । कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्नु त किमार्थ पनि उचित हुँदैन । फेरि पनि म दोह¥याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छुु ।
यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि र औषधिहरु, तत्सम्बन्धी विज्ञ र चिकित्सकहरुको परामर्शमा मात्रै नियमको पालना र औषधिहरु सेवन गर्नु उचित हुन्छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने र सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणले युक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी छ ।
कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आआफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ । अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु ।
यसपालीको बडादशैंँ मनाइरहँदा म कोभिड–१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दःुख र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । संक्रमणबाट बिरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस महामारीको संक्रमणबाट आपूm जोगिनु र आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो ।
त्यसैले, यसपालीको बडादशैंँ, हामी जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु ।
संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपालि प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु ।
दिदीबहिनी तथा दाजुभाइहरु,
जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ ।
अनुशासन, उच्च मनोबल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।
बडादशँैं २०७७ को सबैमा हार्दिक शुभकामना ।
धन्यवाद ।