अमेरिकामा चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा


वासिङटन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनु भएको छ । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिनु भएको हो । पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आउनु भएको थियो ।

रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिनु भएको छैन भने चुनावी परिणामलाई पनि स्वीकार गर्नु भएको छैन ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उहाँका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र ९मेमो० लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिनु भएको छ । महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भयो ।

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएपनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहनु भएको छ । राष्ट्रपतिको पक्षका वकीलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् ।