व्यवहारमा सांस्कृतिक जेनोसाइड

विक्रम सुब्बा

जेनोसाइड ? :‘कुनै एक मानवसमूहले अर्को समूहलाई हत्या गरेर सखाप पार्नु ‘जेनोसाइड’ हो। जस्तै– हिटलर (नाजी जाति)ले यहुदी (जाति)लाई जर्मनीमा सखाप पारे। रुवाण्डामा हुतुजातिले तुत्सीजातिका मानिसलाई सखाप मारे।

जेनोसाइडलाई वर्गीकरणसमेत गरिन्छ। जस्तै– १. राजनीतिक, २. सामाजिक, ३. सांस्कृतिक, ४. आर्थिक, ५. जैविक, ६. भौतिक, ७. धार्मिक र ८. नैतिक जेनोसाइड आदि। यी बाहेक अटोजेनोसाइड (सरकारले नै कुनै जातिलाई मारेर सखाप पार्ने) स लिङ्ग्विसाइड (आफैं वा राजनीतिक कारणले कुनै भाषा मर्नु वा मारिनु) को पनि कुरा हुँदै आएको छ।

चरणहरू : ग्रेगोरी स्ट्यानटोन, जेनो साइड वाच्ड डट ओआरजी अध्यक्षले जेनोसाइटका ८ चरण उल्लेख गरेका छन्।

१. वर्गीकरण : यो पहिलो चरणमा ‘हामी’ र उनीहरू’ भनेर जातिहरूलाई छुट्याउने काम गरिन्छ। जस्तै– हामी उच्च जातका, उनीहरू सानो जातका, आदि।

२. उपमा दिने : यो चरणमा ‘मन नपरेको’ जातिलाई नकारात्मक ‘उपमा’ दिइन्छ। जस्तै– चुच्चे, थेप्चे, आदि।

३. अमानविकीकरण : यो चरणमा आफूलाई मन नपरेको जातिको मानिसलाई पशुका रुपमा चित्रण गरिन्छ। जस्तै– सुँगुरजस्तो मान्छे, ब्वाँसाजस्ता मान्छे, आदि।

४. संगठन : जेनोसाइड संगठित कारबाही हो। अर्थात् यो कार्य गर्ने कुनै तालिम प्राप्त दल वा मिलिसिया वा बाहिनी वा लडाकु दस्ता वा सरकारको हकम) विशेष सुरक्षा दस्ता आदि बनाएर कार्य सम्पादन गरिन्छ। जस्तैः शिव सेना, आदि।

५. धु्रवीकरण : यस चरणमा जातिगतरुपमा घृणा फैलाउने किसिमको प्रोपोगाण्डा गर्दै पत्रपत्रिकामा लेख्ने, अन्तर्वार्ता दिने, भाषण–वक्तव्य दिने र तिनलाई ठूला–ठूला ‘ब्यानर न्यूजमा सम्प्रेषण गरिन्छ।

६. तयारी : यो चरणमा कुनै जातीय वा धार्मिक वा सांस्कृतिक समूहलाई अन्य जातीय वा धार्मिक वा सांस्कृतिक समूहबाट एक्ल्याइन्छ। अर्थात्, त्यो जातीय वा धार्मिक वा सांस्कृतिक समूहलाई अरु कुनै पनि जातीय समूहले साथ–सहयोग नदिने किसिमले वातावरण सृजना गरेर कमजोर अवस्थामा पुर्याइन्छ।

७. ध्वस्तीकरण : माथि उल्लिखित चरणहरुद्वारा विरोधी समूहको स्वरुपलाई बेस्सरी बिगार्दै ल्याएर चरण ६ मा एक्लो र आफूभन्दा कमजोर तुल्याइसकेपछि तोकिएको समूहको ‘आमहत्या’ वा ‘आंशिकहत्या’ वा उनको संग्रहालय ‘ध्वस्त’ वा प्रमाण र इतिहास ‘जलाउने’ र नष्ट गर्ने काम बिजुली चम्केझैँ झटपट सम्पन्न गरिन्छ।

८. नकार : ‘ध्वस्त’ भएको कुरा सञ्चारमाध्यममा सबैभन्दा पहिले आफैंले लेखेर, लेखाएर वा बोलेर, बोल्न लगाएर आफू चोखिने किसिमको कुरा गर्दै प्रोपोगाण्डा गरिन्छ। प्रोपोगाण्डा अझ १–२ हप्ता वा महिना गरेर आफूले सो ‘जेनोसाइड’ वा संग्रहालय ‘ध्वस्त’ नगरेको बरू ‘आन्दोलन, द्वन्द्व र क्रान्तिका बेला यस्तो भइहाल्छ’ भन्दै सो घटनालाई ढिसमिस गरिन्छ।

सांस्कृतिक जेनोसाइड– ‘सांस्कृतिक जेनोसाइड’ वा ‘सांस्कृतिक क्लिन्जिङ’ यी दुई शब्दमा निहित अवधारणालाई कानुनविद् राफाएल लेम्किनले १९४४ तिर ’जेनोसाइड’को एक छुट्टै अङ्ग हुनुपर्छ भनी अघि सारेका थिए। यही शब्द सन् २००७ तिर युनाइटेड नेसन्स डिक्लेरेसन अन द राइट्स अफ इन्डिजेनस पिपल्स (युएनडीआरआईपी) बारे छलफल हुँदा पनि ‘सांस्कृतिक जेनोसाइड’ लाई छुट्टै राख्नुपर्छ भनी कुरा उठेको थियो।

‘सांस्कृतिक जेनोसाइड’ लाई ‘कुनै जातिगत समूह वा धार्मिक समूह वा जनजाति समूह वा राष्ट्रियता समूहलाई नष्ट गर्ने इरादा राख्ने वा नष्ट गर्ने कार्य गर्नु नै सांस्कृतिक जेनोसाइड हो’ भनी परिभाषित गरिएको छ।

युएनडीआरआईपीको धारा ७ अनुसार आदिवासी जनजातिको कुनै पनि किसिमको ‘जेनोसाइड’बाट मुक्त रहने ‘व्यक्तिगत’ वा ‘सामूहिक’ अधिकार हुनेछ। त्यसका निम्ति निम्न कारबाही रोक्नु वा सुधार गर्दै जानुपर्नेछ :
(क) आदिवासी जनजातिहरूको आफ्नोपन वा उनको सांस्कृतिक मूल्य–मान्यता वा जातीय पहिचानलाई दखल अन्दाजी गर्ने कुनै पनि कार्यलाई रोक्नु वा सुधार गर्नुपर्छ।

(ख) आदिवासी जनजातिहरूलाई उनको आफ्नो परम्परागत भूमि, क्षेत्र वा स्रोतहरूबाट उठिबास गराउने कार्य गर्न पाइनेछैन।

(ग) आदिवासी जनजातिलाई उनको इच्छा विपरीत कुनै किसिमको ‘बसाइँ सराइ’ गराउने कार्य गर्नु उनको अधिकारको हनन हो। यस्तो कार्यलाई रोक्नुपर्दछ।

(घ) आदिवासी जनजातिलाई कुनै पनि किसिमले अरुको संस्कृतिमा मिलान वा एकीकरण गर्ने वा अरुको सांस्कृतिक शैली लाद्ने कानुनी वा प्रशासनिक वा कुनै पनि कार्य रोक्नुपर्दछ।

(ङ) आदिवासी जनजातिका विरुद्ध गरिने कुनै पनि किसिमका प्रचार–प्रसार वा ‘प्रोपोगाण्डा’ रोक्नुपर्दछ।

व्यवहारमा सांस्कृतिक जेनोसाइड : व्यवहारमा कुनै पनि कमजोर जातिको सांस्कृतिक पक्ष उजागर गर्ने तत्वहरूलाई बलिया जातिले नष्ट गर्छन्। जस्तै– जातिबारेका पुस्तक, कलाकारिता, शैली वा ढाँचाहरू नष्ट गरिँदै आएको छ। शासकहरूद्वारा ‘उचित नठानेका’ जनजातिका सांस्कृतिक गतिविधिहरुलाई दमन गर्ने वा रोक लगाउने कार्य गरिँदै आएको छ। यसका तरिका अनेक हुन सक्छन्। जस्तै– कुनै समुदाय–समूहको धार्मिक प्रतिमा वा मूर्ति वा मठमन्दिर–गुम्बा वा संग्रहालयहरू ध्वस्त गर्ने अभियान नै चलाएर कुनै जातिसँग सम्बन्धित ऐतिहासिक प्रमाणहरू नष्ट गरी शून्यमा झार्ने। त्यस्तै, उपनिवेशवादीले आफ्नै धर्म, संस्कृति, भेषभूषा, नाचगान, शिक्षाको प्रयोग गर्ने/गराउने गरेर पनि आदिवासी जनजातिहरूको संस्कृति मास्ने काम गर्दै आएका छन्। यही हो सांस्कृतिक जेनोसाइड।

जेनोसाइडविरुद्धको कन्भेन्सनले के भन्छ ? : कन्भेन्सनको धारा २ अनुसार ‘जेनोसाइड भन्नाले निम्नलिखित कार्य गरेर कसैको राष्ट्रियता, जातीयता र धर्मलाई (सम्पूर्ण वा आंशिक) नष्ट गर्नु हो। जस्तै–
(क) कुनै जातीय समूहका मानिसहरूको हत्या गर्नु।
(ख) कुनै जातीय समूहहरूको मानिसलाई गम्भीर शारीरिक वा मानसिक नोक्सान पुर्याउनु।
(ग) कुनै जातीय समूहको विद्यमान अवस्थालाई तोडमरोड गरेर चरणबद्धरुपले कालान्तरमा उनको पहिचानलाई ध्वस्त पार्नु।
(घ) कुनै जातिको नवजात शिशुलाई त्यही जातिगत समूहमा जन्मिन नदिने उपाय लाद्नु।
(ङ) कुनै जातिको नवजात शिशुलाई जबरजस्ती अर्को जातिको सांस्कृतिक वातावरणमा हुर्काउनु, आदि।
धारा ३ अनुसार निम्न कार्य दण्डनीय हुनेछन् :
क) जेनोसाइड कार्य गरेमा।
ख) जेनोसाइड गराउने षड्यन्त्र गरेमा।
ग) सोझै वा सार्वजानिकरुपमा जेनोसाइड गर्ने÷गराउने हेतुले उत्तेजना फैलाएमा।
घ) जेनोसाइड गर्ने प्रयास गरेमा।
ङ) जेनोसाइडका निम्ति कुनै पनि क्रियाकलाप गरेमा।
धारा ४ : चाहे जिम्मेवार शासक होस् वा सरकारी अधिकृत वा कुनै व्यक्ति, जो–कसैले पनि धारा ३ अनुसारको जेनोसाइड गर्ने÷गराउने आपराधिक कार्य गरेको पाइएमा सो दण्डनीय कार्य ठहर्दछ।

नेपाल र अन्यत्र : नेपालमा ‘सांस्कृतिक जेनोसाइड’बारे अध्ययन–अनुसन्धान गरेको पाइँदैन। तर इतिहासमा हेर्ने हो भने लिम्बू जातिका कैयौँ ‘मुन्धुम र अन्य शास्त्र वा अभिलेखहरू लगायतका ऐतिहासिक दस्ताबेजहरु’ शासकहरूले ‘जलाउन’ आदेश दिएर नष्ट गराएको पाइन्छ। लिम्बुवान क्षेत्रको ‘किपट’ प्रणाली (लिम्बू समाजको अर्थतन्त्र) लाई राज्यद्वारा (राजा महेन्द्रको पालामा) नै भूमिसुधारमार्फत ध्वस्त पारिँदा र खस भाषामा शिक्षा लिनुपर्ने अवस्था सृजना गरिएपछि, लिम्बू समाजको आर्थिक अवस्था तहसनहस भयो। प्रकारान्तरले लिम्बूहरूको भाषा–संस्कृति पनि कमजोर हुँदै गयो। यूएनको परिभाषालाई हेर्ने हो भने यो सांस्कृतिक जेनोसाइड हो।

पृथ्वीनारायण शाहले जितेपछि काठमाडौं उपत्यकामा नेपालभाषामा लेखिएका कैयौँ तमसुक, कागजपत्र इत्यादीलाई दिई आएको कानुनी मान्यता हटाइयो। नेपालभाषालाई सरकारी कामकाजी भाषाबाट प्रतिबन्ध लगाइयो। नेपालभाषामा साहित्य वा कविता रच्ने व्यक्तिलाई जेल सजायसमेत दिने काम गरियो। निरंकुश पञ्चायती व्यवस्थाको समयमा रेडियो नेपालबाट प्रसारण हुँदै आएको नेपालभाषाको १० मिनेटको समाचार पनि हटाइयो। ०२८ सालमा आएर स्कुलमा पढाइ भइरहेको नेपालभाषालाई मात्र ‘ऐक्षिक विषय’ बनाइयो। ‘एउटै भाषा एउटै भेष’ भन्ने नारा लगाएर सरकारी योजनामुताबिक नै नेपालभाषालगायत रैथाने भाषाहरूलाई उठ्नै दिइएन। लाल्टिन बालेर राति लिम्बू भाषा सिकाएबापत वीर नेम्बाङलाई जेल हालियो। यो सांस्कृतिक जेनोसाइड हो।

केशव स्थापित मेयर हुँदा काठमाडौं महानगरपालिकामा खस–भाषाका अतिरिक्त नेपाल भाषालाई पनि कामकाजी भाषाका रुपमा चलाउन शुरु गरियो जुन पाटन, भक्तपुर, कीर्तिपुर नगरपालिकाहरुमा पनि फैलिएको थियो। त्यस्तै धनुषा, राजविराजमा मैथिली भाषा चलाउने प्रयास भएको थियो। तर यसको पूर्ण कार्यान्वयन हुनुअगावै यज्ञनिधि दाहालले सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्च अदालतले ती प्रयासहरुमा रोक लगाइदियो र अघि बढ्नै पाएन। यो सांस्कृतिक जेनोसाइड हो।

पछिल्लो घटना ः केही वर्षअघि राज्यले उचित विकल्प नै तयार नगरी ‘मुक्त कमैया’ घोषणा गरेपछि थारु समुदाय लथालिंग–छरपस्ट र आर्थिक रुपले बेहाल–तहसनहस भयो। धेरै ‘मुक्त कमैया’हरू अनेक रोग लागेर मरे र हाल पनि मरिरहेछन्। यसलाई ‘जेनोसाइड’ (सांस्कृतिक जेनोसाइडसमेत) भएको भन्न सकिएला÷नसकिएला ? अध्ययन भएको छैन। केही वर्षअघि बुटवलनजिकैको ‘थारु संग्रहालय’मा आगो लगाएर ध्वस्त गरियो। यो सांस्कृतिक ‘जेनोसाइड’ हो कि होइन ? अहिले नेपालमा एक जाति र अर्को जातिका बीचको ‘ध्ु्रवीकरण’ (‘मधिशे’ र ‘पहाडे’, आदि) ले गहिरो जरा गाड्दै गइरहेको छ, जसले ‘जेनोसाइड’को घटना घट्ने संकेत गर्दछ।

इतिहास हेर्दा तिब्बतमा जब बुद्ध धर्म छिर्यो बिस्तारै त्यहाँको रैथाने बोनधर्मलाई बुद्धधर्मले आफूमा समाहित गरेर (नयाँ) “टिबेटन बुद्धिज्म’को रुप लियो। भारतको इतिहास हेर्ने हो भने मुस्लिमहरूले कैयौँ मन्दिर र भवनहरूमा कुँदिएका सुन्दर आकृतिहरूलाई कोट्याई–कोट्याई ध्वस्त गरेका थिए। यो सांस्कृतिक जनोसाइड हो कि होइन ? क्रिश्चियनहरूले भारतको (एक उदाहरण मात्र) नागालेन्ड पसेर नागाहरूको धर्म नै ‘क्रिश्चयन’ बनाइदिए। नागाहरुको आफ्नो धर्म–संस्कृति नष्ट भयो। यस्ता अनेक घटना जताततै घटेका छन्। यो सांस्कृतिक जेनोसाइड हो कि होइन ? केही वर्ष अघि अफगानिस्तानमा ‘बनियन बुद्ध’ मूर्तिलाई तालिवानहरूले बम हानेर ध्वस्त गरे।

यो सांस्कृतिक जेनोसाइड हो कि होइन ?

यो दुनियाँको सभ्यताहरू एउटाले अर्को अमुक सभ्यतालाई नष्ट गरेर आफू र आफूजस्तै बलियो जात वा जीन मात्र बाँच्न फैलिनयोग्य (सर्भाइभल अफ द फिटेस्ट) हुन्छ वा छ भन्ने जंगली सिद्धान्तका आधारमा चल्दै आएका देखिन्छन्।
तर मानव समाज त जंगलबाट निस्केर आधुनिक गाउँ–शहरको अनेक जातजाति मिलेर बस्ने सभ्यताको चरणमा आइपुगेको छ, जहाँ सबैका पहिचानले आ–आफ्नै उचित स्थानको माग गर्दछन्। सबैलाई उचित स्थान दिएर सहअस्तित्वमा बाँच्ने तरिकाले मात्र समाजमा शान्ति बहाल हुन सक्छ। कसैले कसैलाई सिध्याउने काम गर्दै गए ‘सिध्याउने’ संस्कृतिले नै एक दिन ‘सिध्याउनेलाई’ पनि सिध्याउनेछ।