भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका स्थानीयवासी चित्र छन्त्यालले बताउनुभयो ।

ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरी खर्चिनुपर्ने उहाँले बताउनुभयो । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करिब दुई हजार लिटर मह निकालिएको उहाँको भनाइ छ । बजारमा भीरमह प्रतिलिटर रु दुई हजारमा विक्री भइरहेको उहाँले बताउनुभयो ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भीरको तलपट्टी रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक रु तीन हजार, मह तान्ने टाउकेलाई रु एक हजार आठ सय र मह छान्ने सिपालुलाई रु एक हजार पाँच सयसम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करिब रु २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह विक्रि गरेर रु ४० लाखको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरुले बताएका छन् । बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएको बताइएको छ । भरीमौरीको संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भीरमह शिकारी रिबहादुर विकले बताउनुभयो ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा वेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने हुन्छ । अनुमति लिएर भीर मह निकाल्नेहरुबाट वडा कार्यालयले राजस्व सङ्कलन गरी गाउँपालिकामा पठाउने गरेको वडाध्यक्ष गमन छन्त्यालले बताउनुभयो । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा युवाहरु डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने उहाँको भनाइ छ ।

कुईनेमङ्गले वाहेक गूर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायत स्थानमा भीर मह पाइन्छ । गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ ।

बजारमा छ्याप्छ्याप्ती म्याद गुज्रेका खाद्य सामग्री

पश्चिम म्याग्दीको दरबाङ बजारमा महिनाको दुई पटक खाद्य सामग्री खरीद गर्दै आएकी मालिका गाउँपालिका–७ बिमकी जमुना जुग्जालीले गत बिहीबार चामल,दाल, सोयाविन, मैदा र खाने तेल किन्नुभयो । आफूले खरिद गरेको तेलको उपभोग्य म्याद २०७६ चैत २२ गते, मैदाको २०७७ जेठ १३ गते र सोयाविनको असार २२ गते सकिएको बारे उहाँलाई कुनै जानकारी नै भएन ।

यस्तै म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटको स्थानीय पसलबाट बेनी नगरपालिका–३ भकिम्लीकी विमला घर्तीले गत बुधबार २ प्याकेट ‘फ्रुटी’ जुस किनेर नौ वर्षीय छोरालाई खुवाउनुभयो । तत्कालै छोराले बान्ता गरे । त्यसबारे सोधखोज गर्दा उक्त जुसको म्याद २०७७ जेठ १७ गते नै सकिएको थाहा भयो ।

यसरी म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने म्याग्दीका जमुना र बिमला उपभोक्ताका प्रतिनिधि पात्र मात्र हुन् । म्याग्दीका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुको विक्रीवितरण रोक्नेतर्फ सरकार र सम्बन्धित निकायले कुनै पहल नगर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।

सदरमुकाम बेनीबजारमा समेत नियमित रुपमा बजार अनुगमन हुन सकेको छैन । करिब एक वर्ष अघि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी सरुवा भएर गएपछि त्यसयता बेनी बजारमा समेत प्रभावकारीरुपमा बजार अनुगमन हुन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ ।

म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरू खुलेआम विक्रीवितरण गर्नेलाई जिम्मेवार निकायले कारबाही नगर्दा संविधानमा उल्लेख भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनले व्यवस्था गरेको अधिकारबाट समेत म्याग्दीका उपभोक्ताहरु वञ्चित भएका छन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि खाद्यान्न ढुवानीमा सहज पहुँच नभएका कारण जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि म्याद गुज्रिएका खाद्यान्न सामग्रीको विक्री भइरहेको पाइएको छ ।

उपभोक्ताले आपूmले पसलबाट खरिद गरेको खाद्य सामग्रीको म्याद हेर्न नजान्ने, विक्रेताले पनि सामग्रीको म्यादबारे जानकारी नदिने र नियामक निकायले बजारको नियमित अनुगमन र कैफियत पाइएका पसललाई कारबाही नगरेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका हुन् ।

भर्खरै बजारबाट किनेका सामान पनि पुरानो हुन्छ र रु भन्दै आश्चर्य मानेका रुम स्थायी घर भै हाल बगरफाँटमा बस्दै आएका आरावाला देव मगरले त्यसबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । यस्तै आफूलाई अङ्ग्रेजीमा लेखिएको म्याद हेर्न नआउने भएकाले पनि यसबारे सजिलै थाहा नपाएको आमउपभोक्ताको भनाइ छ ।

“मिति नेपालीमा लेखेको भए हेर्न सजिलो हुने थियो”, बगरफाँटका उपभोक्ता टीका बहादुर कार्कीले भन्नुभयो । “सम्बन्धित स्थानीय सरकारले अधिकांश ग्रामीण बजार नियमित रुपमा अनुगमन नगर्दा यहाँका उपभोक्ता अखाद्य वस्तु उपभोग गर्न बाध्य छन्”, मङ्गला गाउँपालिका–४ बरंजाका कृष्ण सापकोटाले बताउनुभयो ।

स्थानीय प्रशासनले बजार अनुगमनलाई सदरमुकाममा मात्रै सीमित राख्ने र गाउँमा स्थानीय तहसँग समन्वय नगरेकाले पनि म्याग्दीका ६० प्रतिशतभन्दा बढी नागरिक म्याद नाघेका खाद्य सामग्री उपभोग गर्न बाध्य भएको बताइएको छ ।