त्यति बेला माया गर्ने कोही पनि भएनन्

जीवनलाई सफल बनाउनको लागि आँट र अठोट चाहिन्छ । जीवनमा सफल बन्नको लागि दुःखको पहाड भत्काउने सहास गर्नुपर्छ । लक्ष्य र अठोटलाई आत्मसाथ गर्ने व्यक्ति मात्र सफल हुने गर्छ । निरन्तर संघर्षले नै जीवनलाई सफलताको गोरेटोमा डोहोर्याउने गर्छ । जीवनमा सुख–दुःख चलिरहने प्रक्रिया हो । संघर्षको पहाड चढन सहज छैन् ।
पहाडको टुप्पोमा पुग्न निकै कठिनाई र सांस्ती झेल्नु पर्छ । तर शिखरमा पुगेपछि त्यसको आनन्दको बयान गर्न सकिन्न । जीवनलाई सफल बनाउन मेहनत, इमान्दारीता र आँट हुनुपर्छ । मानिसहरु जीवनमा केही पनि गर्न सकिएन । केही पनि भएन भनेर भौतारिने गर्छन ।

सफलताको लागि योजना र लक्ष्य पहिलो शर्त हो । लक्ष्यले प्राप्तिको लागि लाग्नेहरु सफल हुन्छन । छिट्टै धनी बन्ने सपना लिएर विदेशी नेपालीहरुको संख्या लाखौ छ । तर नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न सफल भएका हिमाल श्रेष्ठले ।

हिमाल श्रेष्ठ 

रामेछाप जिल्ला साबिकको पकरवास गाविस–६ हाल खाँडादेवी गाउँपालिका पकरवास फुल्पा वेसींटोल रमाईलो वस्तीमा आमा विष्णुमाया श्रेष्ठ र बुबा जगतबहादुर श्रेष्ठको कोखबाट २०४१ साल असार २९ गते जन्मिएका श्रेष्ठ मध्यम वर्गीय परिवारमा हुर्किए । गाउँकै प्रयागेश्वर माविबाट २०५८ सालमा एएएसलसी दिएपछि लाहुरे हुने हुटहुटी चलेपछि घरबाट भागेर लाहुरे बन्ने सपना सहित काठमाडौं प्रवेश गरेको श्रेष्ठ बताउछन् ।
गाउँघरमा मेलपात, बस्तुभाउ चराउनु भन्दा शहर गएर पैसा कमाउने सपना बटुल्दै श्रेष्ठले गाउँकै हरि कार्कीसँग पाँच सय रुपैयाँ लिएर काठमाडौं आएका थिए । जीवन भोगाई हो । भोग्नु पर्छ, भन्ने मान्यता सहित काठमाडौं आएका श्रेष्ठले सुरुमा होटलमा भाँडा माझ्ने काम गरे ।
गाउँमा सामान्य काम गरेका उनलाई दैनिक रुपमा जुठो भाँडा माझ्नु निकै कठिन र पीडादायिक भयो । यतिसम्म कि दस÷पन्ध्र दिनपछि हातको औंला सबै पाक्यो ।

त्यति बेला माया गर्ने कोही पनि भएनन् । होटलमा भाँडा मात्र होइन, कुकहरुको कपडा समेत धुनु पर्दथ्यो, उनी सम्झन्छन् । खाना बस्न त होटलले दिएको थियो । तर रातदिन भाँडा माझ्दा हात सबै पाकेपछि श्रेष्ठले घर सम्झिए । आमा बुबा सम्झिए । जाडोको महिनामा थियो, बिहानदेखि बुलकीसम्म भाँडा माझ्दा सात्तो गयो, उनले भने । एक महिनापछि पाँच सय कमाएर उनी गाउँ फर्किए । तर गाउँ फर्किए पनि केही दिनको बसाईपछि पुनः काठमाडौं गएर केही नै केही गरेरै छोडने अठोट व्यक्त गरेर आएको उनी बताउछन् ।
सुरुमा काठमाडौं आउदा घरपरिवार भित्रैको आफन्त कोही पनि थिएन । सुरुमा ताराराम श्रेष्ठको घरमा बसे, सात दिन बसेपछि विष्णु श्रेष्ठको रेष्टुरेन्टमा काम गरेको हिमाल श्रेष्ठ बताउछन् । दोस्रो पटक काठमाडौं फर्किएपछि योङ हाट तन्तुरी किचेन सिनामगंलमा काम थाले । सुरुमा ८ सय रुपैयाँमा वेटरमा काम सुरु गरे । काम कठिन थियो । तर पनि दुःख विर्सिएर काममा ध्यान दिए । निरन्तर रुपमा एउटै होलटमा ९ बर्षसम्म काम गर्दा ८ सयबाट सुरु गरेको कामको तलब नौ बर्षको अवधिमा पन्ध्र सय रुपैयाँसम्म पुग्यो, उनले भने ।
दुःखको पहाड भत्काउने काम त ठिकै हो मनमनै सम्झिन्थे । तर कहिलेसम्म वेटर भएरै बस्ने भन्ने मनमा अनेक कुरा खेल्न थालेपछि आफ्नै मन पनि दोमन भएको बताउदै जीवनमा केही गर्नुपर्छ भन्ने सोच पलाउदै गएको उनी सम्झिन्छन् ।
८ सय तलब खादै गर्दा मैले कति बर्षमा कति कमाउछु होला ? भनेर राती सुत्ने बेलामा हिसाब किताब गर्थे । वीस बर्षमा कति कमाउछु होला ? मैले जग्गा कहिले किन्छु ? घर कहिले बनाउछु ? गाडी कहिले चढछु ? यस्ता अनगिन्ती प्रश्न मनमा हरदम आइनै रहन्थ्यो, श्रेष्ठले भने ।
ग्राहकहरुसँग हाँसेर बोल्थे, सकेसम्म एक पटक आउने आग्रकहरुको अर्को पटक आउदा नाम भनेरै बोलाउथे, श्रेष्ठ भन्छन,‘योङ हट होइन एकान्तकुना र कलंकीदेखि हिमाल भाई भनेर आउथे ।’ तलब भन्दा पनि टिप्सबाट राम्रो कमाइ हुन्थ्यो, हिमाल सम्झछन,‘कुनै दिन दस हजार भन्दा बढी टिप्स कमाए । तलबको मतलब थिएन । ग्राहहरुले जाने बेलामा हिमाल भनेर खोजेरै पैसा दिन्थे । नौ बर्ष काम गर्दा उनी रेष्टरेन्टको क्याप्टेन पनि बने ।
भगवानले त आँट म पुर्याउछु भन्छन भन्ने भनाईलाई आत्मसाथ गर्दै नौ बर्षसम्म सिकेको सीप र अनुभवलाई सम्पत्ती बनाउदै आफै केही गर्ने अठोट सहित श्रेष्ठले तीनकुनेस्थित ए वान क्याफे सञ्चालन गर्न कम्मर कसे । सानैदखि जाँड रक्सी चुरोड बिडीको कुलतमा कहिल्यै नफसेको बताउदै श्रेष्ठले भने,‘समाजमा मैले नमूना बनेर देखाउनु पर्छ, समाजमा सामाजिक काम गरेर समाज परिवर्तनको कामको थालनी गनुपर्छ भन्ने हृदयबाट नै थियो र अहिले पनि छ ।’
कमाएको बचाउने बानी सानैदेखि नै थियो । जीवनमा केही गर्नु छ भनेर पैसा जमाए पनि इच्छा लागेको खान र लगाउने मन गरेनन् । काठमाडौंमा कति हिऊद कठाङग्रिदो जाडोमा पनि ज्याकेट बिना नै काम गरे,श्रेष्ठ भन्छन् । डिल्लीबजारमा कोठा लिएको थियो, कृष्ण दाई र म सँगै बस्थ्यौ, मैले कमाएको जमाइदिने महत्वपूर्ण पात्र उनै कृष्ण दाई हो, हिमालले स्मरण गरे,‘कृष्ण दाई ठमेलमा काम गनुहुन्थ्यो । म योङ हटमा काम गर्थे, कमाएको पैसा सबै कृष्ण दाइलाई नै राख्न दिन्थे, त्यतिबेला म साइकल चलाउने, बाटोमा साइकल पन्चर भयो, साथमा एक रुपैयाँ पनि थिएन, साइकल ठेलेरै कोठा पुर्याए ।’
कुनै दिन टिप्स पाँच हजार कमाई हुँदा सुन तोलाको पाँच हजार रुपैयाँ थियो, सानैदेखि सुनको औठी लगाउने रहर थियो, तर मनमनै सोचे, पैसा जोगाउनु पर्छ, सुन भनेको त विस्तारै किनेपनि हुन्छ भन्दाभन्दै सुन तोलाको नौ हजार पुग्यो, उनले स्मरण गर्दै भने,पाँच हजार तोला भएदेखि सुन किन्छु भनेको थिए, विवाह गर्ने बेलामा ५६ हजार तोलामा सुन किने ।’
कोही पढेर जान्ने हुन्छन । कोही परेर जान्ने हुन्छन । दैनिक वीस हजार रुपैयाँको कारोबार गर्दा पनि एक्लै वेटर भएर काम गरेको बताउदै नौ बर्ष काम गरेपछि जस्तो पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको उनले बताए ।
योङ हटकै साहुहरुसँग सहकार्य गरेर पाँच जना आबद्ध भएर वे वान क्याफे नाम राखेर पहिलो पटक तीनकुनेमा सुरु गरेको उनले बताए । श्रेष्ठले व्यवसायमा सफल बनाउनको लागि राजु श्रेष्ठको पनि मुख्य हात रहेको बताउछन् । उनी भन्छन,‘म यो ठाउँसम्म आइपुग्नको लागि राजु श्रेष्ठको निकै ठूलो साथ र सहयोग छ ।’
श्रेष्ठले आर्मी हुने सपना पनि देखे । त्यसको लागि तयारी पनि गरे । आर्मीमा भर्ना हुनको लागि ५२ किलो हुनुपर्ने थियो । तर उनी त्यति बेला ४८ किलो मात्रै थिए । मेरो काकाले केरा खाएपछि तौल बढ्छ बाँकी म मिलाउला भन्नुभएको थियो आएर एक काइयो केरा खाएको पखाला लागेर छ दिन पूरै बिरामी परे’, उनले भने,‘मसँगैको साथी पास भएर आर्मी भए । तर पनि आज म आफ्नो ठाउँमा सफल भएको छु ।’
हामी जसरी विद्यालयमा पढ्छौ, त्यसैगरी हरेक ठाउँमा पनि काम सिक्नु पर्ने श्रेष्ठको अनुभव छ । उनी भन्छन,‘चाहे नाङलोमा पसल गर्ने हो भने पनि आफ्नो गरौ, एक्लै कमाउने भन्दा पनि सामुहिकताबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मान्यता राख्नु पर्छ ए वान क्याफे पनि सामुहिकताबाट हुन्छ भन्ने एउटा उदाहरण हो ।’
रेष्टुरेन्ट खोल्दै गइयो, दुःख गरेर काम सिकायो, जान्ने भयो कि विदेश जाने अवस्था सृजना हुँदा कामदार उत्पादन गर्न नै निकै कठिन भएपनि अहिले कामदारलाई नै साहुजी बनाउने अभियान सुरु गरेको श्रेष्ठ बताउछन् । तलब पनि हुन्छ, शेयर पनि हुन्छ । न्युनतम पाँच हजार खान बस्न, ड्रेस सहितको सुविधा, एक रुपैयाँ पनि खर्च हुँदैन । दस प्रतिशत ग्राहकबाट स्टाफहरुलाई जान्छ । रोएल ए वानमा हामीले कर्मचारीको सञ्चय कोष सहितको व्यवस्था गरेका छौ, उनले भने ।
हरेक काममा मुख्य कुरा इमान्दारीता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले पैसा हुने तर जाँगर नहुने व्यक्तिहरुलाई आफूहरुको समुहमा समावेश नगरिएको बताए । हाल ए वान क्याफेमा मात्र एक सय जना पाटर्नर रहेका छन् । राजधानीमा ए वान नै भनेर खोलेको सात वटा छ भने रोयल ए वान इन्भेष्टद्धारा सञ्चालिन १५ वटा रेष्टुरेन्ट रहेका छन् ।
२०६१ सालमा ताराराम श्रेष्ठको अध्यक्षमा फाष्टफुड एसोसियसन नेपाल विधिवत रुपमा दर्ता गरेर नै व्यवसायीहरुले आफ्नो हक हितको लागि सरकारलाई घचघच्याउने काम गर्दै आएका छन् । हाल एसोसियसनमा १ सय ५० वटा रेष्टरेन्ट दर्ता छन् । हिमाल श्रेष्ठ फाष्टफुड एसोसियसन नेपालका महासचिव समेत हुन् ।

सुरुको चरणमा व्यवसाय सहज भएपनि अहिले चुनौती थपिदै गएको उनको अनुभव छ । घरबेटीले घरभाडा महंगो भन्ने, प्रहरी प्रशासनले दुःख दिने, राजनीतिक दलहरुको चन्दा आतङ्क मच्चकाउने,, ट्यापे मुन्द्रको दादागिरीले अचाक्ली रहेको कारण दिनप्रतिदिन चुनौती थपिदै गएको उनी बताउछन् ।

उनले अब महासचिवबाट फास्टफुष्ट एसोसियसनको अध्यक्ष हुने लक्ष्य राखेका छन् । व्यक्तिगत रुपमा गाउँमा पनि सडक निर्माण कार्यदेखि लिएर सामाजिक कार्यमा लगानी गर्दे आएका श्रेष्ठले आफूलाई समाजसेवीको रुपमा समेत पहिचान बनाएका छन् । १५ किलो मिटर सडक आफ्नो नेतृत्वमा खनिएको बताउदै उनले विगतमा गाउँमा नाटक निकाल्ने, भलिवल प्रतियोगीताको काम गर्ने गरेको बताए ।
हिमाल श्रेष्ठकी श्रीमती मखमली श्रेष्ठ हाल खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष छिन । पार्टीसँगै आफूले समाजमा खेलेको भूमिकाले पनि श्रीमतीलाई राम्रो मत आएको उनको अनुभव छ ।

उनले आफू जन्मिएको रमाइलो वस्तीलाई नमूना बस्तीको रुपमा विकास गर्ने योजना अगाडि सारेका छन् । वेसीं टोलमा रहेको रमाइलो वस्तीमा हाल ७० घरपरिवार छ । त्यस मध्ये ३८ घरपरिवारलाई एकीकृत वस्तीको रुपमा विकास गर्ने योजना श्रेष्ठले बनाएका छन् । जीवनलाई सफल बनाउको लागि मेहनत, इमान्दारीता र आँट हुनुपर्ने श्रेष्ठको बुझाई छ ।