काट्नु

  • दीपक खनाल

यो पृथ्वीलोकमा मात्रै हैन, नकाटीकन स्वर्गलोकमा पनि कुनै कामै बन्दैन । विहान-बेलुका तरकारी नकाटी बाहै चल्दैन । अनेक परिकार तयार गर्न पनि काट्नै परिहाल्यो । कोरोना कहर काट्दा काट्दा संसारका हुँदाखानेसँग अब हाड र छाला मात्रै बाँकी छ ।

यत्रो कहरमा पनि हुनेखानेहरू आफ्नोबाट अलिकति काटेर दिऔँ भन्दैनन्, गरिबलाई मान्छे नै गन्दैनन् । कुखुरा, बोका-खसी, राँगा, सुँगुर नकाटी बगरेको चुलै बल्दैन । दारी-जुङ्गा-कपाल-नङ बढ्छ, बेला-बेलामा काटिएन भने सतहीहरूले बैरागी भन्लान् । नारीले कपाल बाट्नु र झन् राम्री हुन आँखीभौं काट्नु कति आवश्यक छ। कटाहाले खेती काटेर केही बाँकी राख्दैन ।

त्यसैले खेती पाकेपछि नकाटे के खाने रु कपडा नकाटी कसरी सिलाउने सट-पाइन्ट, कोट, दौरा-सुरूवाल, कुर्ता-सलबार, ब्लाउज, चोलो आदि आदि। फलामले फलामै काट्छ । बिरालोले बाटो काटेपछि साइत पर्दैन भन्छौं हामी, जापानतिर साइत पर्छ भन्ने मान्यता छ रे ।

मूसोले किताब-कपीदेखि सिरक-डसनासम्म, बिजुलीको तारदेखि भकारीको भारसम्म काटेर दिनुसम्म टेन्सन दिएको छ । महादेवले रिसको झोंकमा आफ्नै छोरा गणेशको गर्धन काटेर कत्रो फसाद ? परीक्षाको उत्तरपुस्तिका नकाटी कसरी पास-फेल छुट्याउने ? सडक हिड्दा बाटो काट्न जानिएन भने जिन्दगी नै झिरिप ।

नदीले खेत काटेर किसानको प्रेसर बढाको बढाइ छ, तैपनि तटबन्धको व्यवस्था गर्न सकिएन । भोका-नाङ्गा नागरिकको मुखबाट काटेर लिएको करमा तर मार्न कसैलाई डर छैन । आफ्नै पार्टीको घर हुँदा नेता-कार्यकर्तालाई आफ्नै जिन्दगीको भर छैन । छिमेकीले सीमाको नक्सा काटेर हाम्रो रगत चढाको चढाइ छ । बोर्डरका पिल्लर नेपालतिर बढाको बढाइ छ ।

जोसुकैलाई होस् कटक्क पेट काटेपछि ट्वाइलेट नछिरी हुँदै हुँदैन । कस्तरी हरायो मानवीय संवेदनशीलता जो मरे पनि कोही रूदैँ रूदैँन । अनिदोले रात काट्नु, जोडाजोडीले सँगै जिन्दगी काट्नु, छरछोरीले बाउ-आमा र नेता-मन्त्रीले देश र नागरिकको नाक काट्नु, कामचोरले झुलेर दिन काट्नु, नेटो काट्नु, टेलिकमले पैसा काट्नु, घाँस काट्दा हात काट्नु आदि पनि त काट्नु नै हो ।

त्यसैले मलाई काट्नु साह्रै वैज्ञानिक, अपरिहार्य र प्रेमल लाग्छ किनकि काट्दै नकाटी आजको जमानामा कुनै काम बनेछ भने मेरो मुखमा थुकिदिनू । तपाईंले मेरो कुरा काट्नु र मैले तपाईँको कुरा काट्नु पनि जायज र अनिवार्य हो । यो विन-विनको अवस्था हो ।